नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ कैलालीको २७औँ वार्षिक उत्सव सम्पन्न
धनगढी: नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, कैलालीको २७औँ वार्षिक उत्सव तथा समारोह सम्पन्न भएको छ। संघले शुक्रबार धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित आर्मी ब्यारेकमा विभिन्न कार्यक्रमसहित वार्षिक उत्सव मनाएको हो।
संघका कैलाली सभापति तथा भूतपूर्व सैनिक लोकराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
प्रमुख अतिथी नेपाली सेना श्री युदकवाज गुल्मका गुल्मपती प्र.से नवीन बहादुर बोहोरा तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संघमा आबद्ध भूतपूर्व सैनिक तथा विभिन्न दर्जाका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष ऐरले देशको रक्षाका लागि लामो समय सेवा गरेर अवकाश प्राप्त गरेका सैनिकहरूको योगदानको प्रशंसा गरे। सुरक्षा र सुशासन कायम गर्न सैनिकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकका सवालमा स्थानीय तहबाट आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि प्र.से.नवीन बोहराले भूतपूर्व सैनिकहरूले अवकाशपछि पनि समाजप्रति निर्वाह गर्दै आएको सामाजिक दायित्व अनुकरणीय रहेको बताए। राष्ट्रसेवाका क्रममा प्राप्त अनुभव र अनुशासनलाई सामाजिक कार्यमा उपयोग गर्दै अघि बढ्नु सकारात्मक भएको उनको भनाइ थियो।
संघका कैलाली सभापति लोकराज पन्तले देश तथा समाज संकटमा परेका बेला भूतपूर्व सैनिकहरूले निःस्वार्थ रूपमा सहयोग गर्दै आएको बताए। सामाजिक उत्तरदायित्वका काममा संघ सधैं अग्रपंक्तिमा रहँदै आएको दाबी गर्दै उनले भूतपूर्व सैनिकका हक, अधिकार तथा सेवा–सुविधाका विषयमा भने राज्यबाट पर्याप्त ध्यान नदिइएको गुनासो गरे।
भूतपूर्व सैनिक संघलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको पन्तले बताए। कैलालीका भूतपूर्व सैनिकहरूले विभिन्न सामाजिक तथा जनहितका गतिविधिमा निरन्तर योगदान गर्दै आएको पनि उनले उल्लेख गरे।
यसैबीच, बोराडाँडीस्थित आर्मी ब्यारेकमा भूतपूर्व सैनिकका लागि तीनकोठे भवन निर्माण भएपछि संघका नियमित गतिविधि तथा वार्षिक उत्सवजस्ता कार्यक्रम सञ्चालन गर्न सहज भएको भूतपूर्व सैनिकहरूले बताएका छन्।
वार्षिक उत्सवका अवसरमा संघको सांगठनिक गतिविधि, भूतपूर्व सैनिकका समस्या, हकहित तथा सामाजिक सुरक्षाका विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा संघले सञ्चालन गर्ने कार्यक्रम तथा कार्ययोजनाबारे समेत जानकारी गराइएको थियो।
भूतपूर्व सैनिकहरूको हकहित संरक्षण, सामाजिक सुरक्षा, आपसी एकता र सहकार्यका लागि सक्रिय रहँदै आएको संघले हरेक वर्ष वार्षिक उत्सवलाई विशेष कार्यक्रमका रूपमा मनाउँदै आएको जनाएको छ।