सुदूरपश्चिममा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक, तीन वर्षमा ५ सय ६९ जनाको मृत्यु
धनगढीः सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्था पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको अवधिमा प्रदेशभर २ हजार ९ सय ८५ वटा सवारी दुर्घटना हुँदा ५ सय ६९ जनाको मृत्यु भएको छ भने ५ हजार ८३ जना घाइते भएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर ३ सय ९ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा १ सय ७२ जनाको मृत्यु र ५ सय ३६ जना घाइते भएका थिए।
त्यसको अर्को वर्ष दुर्घटनाको संख्या बढेर १ हजार २ सय ३ पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा १ सय ९२ जनाको मृत्यु भएको थियो भने २ हजार ४ जना घाइते भएका थिए।
गत आर्थिक वर्ष दुर्घटनाको संख्या अझ बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशभर १ हजार ४ सय ७३ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा २ सय ५ जनाले ज्यान गुमाएका छन् भने २ हजार ५ सय ४३ जना घाइते भएका छन्।
तीन वर्षको तथ्यांक तुलना गर्दा सवारी दुर्घटनाको संख्या निरन्तर उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ३ सय ९ रहेको दुर्घटनाको संख्या २०८२/८३ मा १ हजार ४ सय ७३ पुगेको हो।
दुर्घटनासँगै ट्राफिक नियम उल्लंघनका घटना पनि उल्लेख्य छन्। आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ४ सय ७९ सवारी साधन कारबाहीमा परेका थिए। त्यसबाट ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। सोही वर्ष मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ हजार ९ सय १८ जना कारबाहीमा परेका थिए।
आर्थिक वर्ष २०८१/८२ मा ६१ हजार ५ सय ७६ सवारी साधन कारबाहीमा पर्दा ४ करोड ४१ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। मापसे गरी सवारी चलाउने ३ हजार ९ सय ३१ जना कारबाहीमा परेका थिए।
गत आर्थिक वर्ष २०८२/८३ मा कारबाहीमा पर्ने सवारी साधनको संख्या ३९ हजार २ सय १२ रहेको छ। त्यसबाट ३ करोड १८ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। सो अवधिमा मापसे गरी सवारी चलाउने ३ हजार ६ सय ४१ जना र लागू पदार्थ सेवन गरी सवारी चलाउने ५६ जना कारबाहीमा परेका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी मनिराम भट्टका अनुसार सुदूरपश्चिममा हुने अधिकांश दुर्घटनामा चालकको लापरबाही मुख्य कारणका रूपमा देखिएको छ। तीव्र गति, गलत तरिकाले ओभरटेक गर्ने, मापसे गरेर सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना हुने गरेको उनले बताए।
सडकको कमजोर अवस्था, साँघुरा सडक, जोखिमयुक्त मोड तथा आवश्यक सडक पूर्वाधारको अभावले समेत कतिपय क्षेत्रमा दुर्घटनाको जोखिम बढाएको कार्यालयले जनाएको छ।