राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रलाई भोटको एजेन्डामात्र बनायो : धवलशमशेर जबरा
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका डा. धवलशमशेर जबराले राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई केवल मत संकलनको माध्यम बनाएको आरोप लगाएका छन्।
बिहीबार काठमाडौँमा नवगठित ‘जय नेपाल पार्टी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाबाट आफ्नो उद्देश्य पूरा हुन नसकेपछि राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नयाँ राजनीतिक अभियान सुरु गरेको बताए।
डा. जबरा र दुर्गा प्रसाईं समूहको सहकार्यमा ‘जय नेपाल पार्टी’ गठन गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै उनले राप्रपाले ३७ वर्षसम्म राजसंस्थाको नाममा जनमत बटुले पनि जनताले अवसर दिँदा आफ्ना मूल एजेन्डा कार्यान्वयन गर्न नसकेको आरोप लगाए।
“राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्यो। जब–जब जनताले अवसर दिए, उसले आफ्ना एजेन्डा अघि बढाएन। बरु नेताहरूको व्यक्तिगत स्वार्थका कारण मूल एजेन्डा नै ओझेलमा पर्यो,” उनले भने।
उनले पछिल्ला निर्वाचन परिणामपछि राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा समाप्त भएको भन्ने धारणा स्थापित गर्न खोजिएको दाबी गर्दै त्यसलाई जोगाउने उद्देश्यले ‘जय नेपाल पार्टी’ स्थापना गरिएको बताए।