तीन नेपाली बालबालिकाले भियतनाममा जिते उपाधि
काठमाडौँः अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर–२०२६’ मा नेपालको प्रतिनिधित्व गरेका तीन नेपाली बालबालिकाले विभिन्न उपाधि जित्न सफल भएका छन्।
प्रतियोगितामा सहभागी आरिका उप्रेतीले ‘राइजिङ स्टार–२०२६’को उपाधि जित्दा सेरोन थापाले ‘क्राउन प्रिन्स वल्र्ड जुनियर टुरिजम एम्बेसडर–२०२६’को सेकेण्ड रनरअप र आरभ उप्रेतीले ‘प्रिन्स वल्र्ड जुनियर टुरिजम एम्बेसडर–२०२६’को फष्र्ट रनरअपको उपाधि हासिल गरे। आरभ र सेरोनले ‘चार्मिङ अवार्ड’समेत जित्न सफल भएका थिए।
भियतनामको दलात शहरमा सम्पन्न प्रतियोगितामा सहभागी हुन नेपाली टोली एक साताअघि त्यसतर्फ गएको थियो ।प्रतियोगितामा नेपाली संस्कृति, कला र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीनै बालबालिकाले नेपालको मौलिक पहिचान झल्किने प्रस्तुति दिएका थिए।
आरिका उप्रेतीले नेपालको राष्ट्रिय चरा डाँफेको प्रेरणाबाट तयार गरिएको पोसाक प्रस्तुत गर्दा सेरोन थापाले मगर समुदायको मौलिक भेसभुसा र संस्कृतिको प्रदर्शन गरेका थिए । त्यस्तै आरभ उप्रेतीले भक्तपुरको ऐतिहासिक न्यातपोल मन्दिरबाट प्रेरित पोसाकमार्फत नेपालको सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्त्वलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएका थिए।
प्रतियोगितामा सहभागी तीनै जना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी द्वारा आयोजित ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेसनल–२०२६’ का विजेता हुन्। प्रतियोगितामा नेपाली टोलीसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुनुभएको थियो । प्रतियोगिताका लागि प्रयोग गरिएका फेसन कन्सेप्ट तथा पोसाक डिजाइनर श्रीषा बैदारले तयार गरेकी थिइन्।