सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी नगरपालिकामा एक कर्मचारीले लगाए साउन १४ मै महिनाभरिको हाजिरी! 

२०८३ साउन १६, ०३:४८ खबर संवाददाता

धनगढी: पुर्चौडी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत एक कर्मचारीको साउन महिनाको हाजिरी अभिलेखलाई लिएर विवाद उत्पन्न भएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक गीताकुमारी खड्काले साउन १४ गतेकै मितिमा सिंगो महिनाभरिको हाजिरी भरेकी हुन्। महिना नसकिँदै पूरै महिना हाजिर भएको देखिने अभिलेख सार्वजनिक भएपछि कार्यालयको अभिलेख व्यवस्थापन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको हो।

घटनाबारे जानकारी लिन निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिलबहादुर बोहरासँग सम्पर्क गर्दा उनको मोबाइल अफ आयो भने महिनाभरिको हाजिर लगाउने खड्कालाई कुरा बुझ्न पटकपटक फोन गर्दा उनको फोन उठेन। यता नगरपालिकाले भने उक्त विषयलाई 'सामान्य त्रुटि' भएको बताएको छ।

नगर प्रमुख दिपकबहादुर बमले नगरपालिकामा ई-हाजिरी गर्ने व्यवस्था भएको बताउँदै रजिस्टरमा त्रुटिले हाजिर गरिएको जवाफ खड्काले दिएको बताए। 'हाम्रो नगरपालिकामा ई-हाजिरी लगाउने गरिएको छ। ई-हाजिरी लगाउँदा रजिस्टरको हाजिरी आवश्यक पर्दैन,' उनले भने, 'यो विषयमा कर्मचारीसँग बुझ्दा उहाँले बिर्सेर हाजिर गरेको जवाफ दिनुभएको छ। म पनि अहिले नगरपालिकाभन्दा बाहिर छु।'

खड्काले साउन महिना भरिको हाजिर लगाएको विषय सार्वजनिक भएपछि  स्थानीयले उक्त कार्य विरुद्ध प्रश्न उठाएको बताएका छन्। तर नगरपालिकामा निमित्त प्रशासकीय प्रमुख रहेका अनिल बोहराले गल्ती भएको हाजिरी पाना हटाएर अर्को पानामा सही विवरण राखिएको दाबी गरेको बताइएको छ। तर दिनेशखबरबाट निमित्त प्रमुख बोहरालाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो।

अग्रिम हाजिर लगाएको विषय सार्वजनिक भएपछि स्थानीय युवाहरूले नगरपालिका पुगेर आपत्ति जनाएका थिए। नगरपालिकामा भएको छलफलमा प्राविधिक सहायक (प्रास) खड्कालले भने आफूले टिपेक्स प्रयोग गरेर गल्ती सच्याउने प्रयास गरेको प्रतिक्रिया दिएको बताइएको छ।

हाजिरीको विषयमा नगर प्रमुख बम, निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहरा र खड्काले बोलेको कुरा आपसमा बाझिएको  स्थानीयले बताएका छन्।

यसरी एउटै विषयमा जिम्मेवार अधिकारी र सम्बन्धित कर्मचारीले फरक–फरक दाबी गरेपछि घटनाप्रति थप आशंका उत्पन्न भएको छ। ग्रामीण तथा पहाडी जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरू महिनौं कार्यालयमा अनुपस्थित हुने  गरेको बताइन्छ। उनीहरूले कार्यालयमा उपस्थित नरहेको दिनकोसमेत हाजिरी लगाउने अभ्यास रहेको गुनासो गरिन्छ।

कमेन्ट लोड गर्नुस