सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुहावटको समाचारपछि ठेकेदार सक्रिय, कैलाली क्याम्पसकाे भवनमा तत्काल मर्मत गर्दै

२०८३ साउन १४, ०५:२५ जयन्त सिंह भाट

धनगढीः कैलाली बहुमुखी क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवनमा देखिएको चुहावट र अन्य प्राविधिक समस्या सार्वजनिक भएपछि निर्माण कम्पनी रोयल पवन जेभीले बिहीबार क्याम्पस पुगेर आवश्यक मर्मत कार्य गरेको छ।

निर्माण कम्पनीका प्रतिनिधिहरूले भवनको चुहावट नियन्त्रण तथा आवश्यक स्थानमा मर्मत सुधारको काम सम्पन्न गरेको क्याम्पस प्रशासनले जनाएको छ।

यसअघि सामान्य वर्षामै छत चुहिने, झ्यालबाट पानी पस्ने तथा प्रयोगशालामा रहेका उपकरण जोखिममा पर्ने अवस्था देखिएको भन्दै क्याम्पसले निर्माण कम्पनी र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको थियो। समस्या समाधानमा ढिलाइ भएपछि क्याम्पसले छतमा वाटरप्रुफिङ गर्न आफ्नै स्रोतबाट मर्मत सुरु गरेको थियो।

समाचार सार्वजनिक भएसँगै निर्माण कम्पनीका सञ्चालक सिद्धराज भट्टसहितको टोली क्याम्पस पुगेर समस्याको स्थलगत निरीक्षण गर्दै तत्काल मर्मत कार्य गरेको हो। कम्पनीले भवनमा देखिएका समस्या समाधानका लागि आवश्यक थप काम पनि क्रमशः गर्दै जाने प्रतिबद्धता जनाएको जनाएको क्याम्पस स्रोतले बतायो।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले भवनमा देखिएका समस्याप्रति निर्माण कम्पनीले चासो देखाउँदै मर्मत कार्य अघि बढाएको बताए। उनका अनुसार तत्काल देखिएका चुहावटका समस्या समाधानका लागि काम गरिएको छ भने आवश्यक परे थप सुधार पनि गरिनेछ।

करिब ४ करोड ५१ लाख रुपैयाँको लागतमा सामाजिक विकास मन्त्रालयमार्फत निर्माण गरिएको उक्त भवन २०८१ जेठ १६ गते कैलाली बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरिएको थियो। भवनमा देखिएका प्राविधिक समस्या समाधानतर्फ निर्माण कम्पनी सक्रिय बनेसँगै अब वर्षायाममा विद्यार्थीको पठनपाठन र प्रयोगशाला सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस