आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर: ।
गुरुःसाक्षात्परंब्रम्ह तस्मै श्रीगुरवे नम: ।।
अर्थात गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ। यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।
आज श्रावण १३ गते अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा। हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो।
गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म संस्कार सिकाउने गुरुजनहरूलाई नमन गर्ने, पूजा गर्ने, सामाजिक सञ्जाल तथा टेलिफोनको माध्यमबाट सम्झदै कृतज्ञता प्रकट वा सम्मान गर्दै आर्शीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्व मनाइछ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अज्ञानतालाई चिर्ने वा अन्धकारको नाश गरि ज्ञानरुपी प्रकाशले सही मार्गनिर्देश गर्ने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ।
सनातन धर्मका उपनिषद् , भगवद्गीता, गूरुगीता, बिभिन्न पुराण तथा शास्त्रमा गुरुको अपरिहार्य महत्त्व स्पष्ट रूपमा उल्लेख गरिएको छ। मुण्डक उपनिषद्मा तद्धिज्ञानार्थं स गुरुमेवाभिगच्छेत् अर्थात परम ज्ञान प्राप्त गर्न योग्य गुरुको शरणमा जानु पर्छ। भगवद्गीता ४ः३४ मा भगवान् कृष्ण भन्नुहुन्छ तद्धिद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्पन्ति ते ज्ञांन ज्ञानिनस्तदर्शिनः ।। अर्थात विनम्रता, सेवा र जिज्ञासामार्फत गुरुबाट ज्ञान प्राप्त हुन्छ।
अज्ञानता र अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। गुरुलाई हाम्रो धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। हिन्दु सस्कारमा पहिलो गुरु माता पिता हुन्। माता पिता पछि शिक्षा दिने र संस्कार सिकाउन गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ।
बौद्ध परम्पराअनुसार भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँच शिष्यलाई पहिलो धर्मदेशना दिनुभएको दिन आषाढ शुक्ल पूर्णिमा रहेको मानिन्छ । त्यस्तै जैन धर्ममा पनि आध्यात्मिक गुरुहरूप्रति सम्मान व्यक्त गर्दै संयम, आत्मशुद्धि र सदाचारको मार्ग अनुसरण गर्ने प्रेरणा लिने दिनका रूपमा यो पर्व मनाइन्छ।
आषाढ शुक्ल पूर्णिमा अर्थात आजकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। धार्मिक मान्यता अनुसार माहाभारत, श्रीमद्भागवत र अठार पुराणका रचनाकार वेद व्यासले गरेका थिए।
समयको परिवर्तनसँगै आजभोलि गुरुहरूलाई स्कुल, कलेज तथा आश्रममा भेटेर उपाहार स्वरुप बिभिन्न भौतिक सामान दिने र गुरुहरूलाई मिठो परिकार बनाएर दिन प्रचलन रहेको छ।