अछाममा अटो दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर
अछाम: अछामको कमलबजार–मानसैन सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिकैको ‘ओखडको रुख’ भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कमलबजार नगरपालिका–५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन्। घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार कैलाले जानकारी दिए।
घाइते तीनै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसैन पठाइएको छ।
अटोमा सवार चालकसहित अन्य एक जना यात्रु भने सकुशल रहेका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।