सार्वजनिक बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने
धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदाको दिन पनि सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने र कार्ड लिने सेवाग्राहीको अत्यधिक चाप बढेपछि कार्यालयले सेवा विस्तार गर्ने निर्णय गरेको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार साउन ८ गतेदेखि आइतबार र शनिबारबाहेक सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक (फोटो खिच्ने) सेवा सञ्चालन गरिनेछ।
यस्तै, धनगढी उपमहानगरपालिका–६, कैलारी गाउँपालिका–७ र गोदावरी नगरपालिकाका वडा कार्यालयमार्फत सञ्चालन गरिएको अभियानमा विवरण दर्ता गराएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र कार्ड बुझ्न अनुरोध गरिएको छ।
कार्यालयले २०८० भदौ मसान्तसम्म विवरण दर्ता गराएका सेवाग्राहीका कार्ड कार्यालयमा प्राप्त भइसकेको जनाएको छ। तर, त्यस अवधिमा आन्दोलनका कारण वितरण हुन नसकेका कार्ड सम्बन्धित व्यक्तिले स्वयं उपस्थित भएर बुझ्न पनि आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासनकीय अधिकृत यादव भण्डारीद्वारा जारी सूचनामा सेवाग्राहीको सहजताका लागि सेवा अवधि विस्तार गरिएको उल्लेख गरिएको छ।