के बालेनले सुदूरलाई फेरि हेपे? यस्तो छ वास्तविकता
धनगढीः 'सुदूर अब दूर नाई, झिक्क झिक्कै माया तमलाई' भन्ने प्रधानमन्त्री बालेन शाहको भनाइ एक समय निकै चर्चामा रह्यो, र अहिले पनि छ।
उक्त अभिव्यक्तिले सुदूरपश्चिमका धेरै नागरिकमा अपनत्वको भावना जगाएको थियो।
त्यसैले अहिले पनि सुदूरसँग जोडिएका कुनै पनि विषयमा बालेनको नाम जोडिएपछि सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया देखिने गरेको छ।
यहीबीच पछिल्ला केही दिनदेखि फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा एउटा पोस्ट तीव्र रूपमा फैलिएको छ।
पोस्टमा 'वैदेशिक रोजगारीमा गएका श्रमिकका सन्तानलाई छात्रवृत्ति वितरण गर्दा सुदूरपश्चिमलाई सबैभन्दा कम ८५ जनामात्रै छनोट गरियो, बालेनले फेरि सुदूरलाई हेपे' भन्ने आशय व्यक्त गरिएको छ।
यो पोस्ट भाइरल भएसँगै धेरैले सरकार र बालेन शाहको आलोचना गरेका छन्। कतिपयले सुदूरपश्चिममाथि विभेद गरिएको आरोपसमेत लगाएका छन्। तर, यो दाबीको वास्तविकता के हो?
तथ्य के हो?
नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका सबै श्रमिकका सन्तानलाई छात्रवृत्ति दिएको होइन। यो छात्रवृत्ति वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा स्थायी रूपमा अशक्त भएका श्रमिकका छोराछोरीका लागि मात्रै प्रदान गरिने सुविधा हो।
वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको विवरणअनुसार देशभर ३ हजार ३ सय ६३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।
यीमध्ये १ हजार ७ सय ८१ जना छात्र र १ हजार ५ सय ८२ जना छात्रा रहेका छन्।
कुन प्रदेशबाट कति विद्यार्थी?
प्रदेशगत विवरण हेर्दा लुम्बिनीबाट ७७८ जना, कोशीबाट ७३७ जना, मधेशबाट ७१३ जना, गण्डकीबाट ५३१ जना, बागमतीबाट ३८१ जना छन्।
यस्तै कर्णालीबाट १३८ जना र सुदूरपश्चिमबाट ८५ जना मात्रै छन्।
यही तथ्यांकलाई आधार बनाएर सामाजिक सञ्जालमा 'सुदूरलाई हेपियो' भन्ने निष्कर्ष निकालिएको देखिन्छ।
किन कम देखियो सुदूरपश्चिम?
वास्तवमा यो संख्या सरकारले प्रदेशअनुसार कोटा छुट्याएर निर्धारण गरेको होइन। जति आवेदन परे आवश्यक कागजात पूरा भए र मापदण्ड पुगे त्यही आधारमा छात्रवृत्ति स्वीकृत गरिएको हो।
अर्थात्, सुदूरपश्चिमबाट ८५ जना मात्रै छनोट हुनुको अर्थ सरकारले जानाजानी कम कोटा दिएको वा सुदूरलाई विभेद गरेको भन्ने होइन। यो संख्या मृत्यु वा अशक्त भएका वैदेशिक रोजगारीका श्रमिकका सन्तानबाट प्राप्त आवेदन र आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीको विवरण हो।
बालेनसँग यसको सम्बन्ध छ?
सामाजिक सञ्जालमा फैलाइएजस्तो यस छात्रवृत्ति वितरणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध छैन।
यो कार्यक्रम वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम हो। छनोट प्रक्रिया, मापदण्ड र वितरणको सम्पूर्ण जिम्मेवारी बोर्डको हो।
त्यसैले 'बालेनले फेरि सुदूरलाई हेपे' भन्ने दाबी तथ्यसँग मेल खाँदैन।
सामाजिक सञ्जालमा किन फैलियो भ्रम?
आजको डिजिटल युगमा कुनै पनि तथ्यांकलाई सन्दर्भबिना प्रस्तुत गर्दा त्यसले गलत सन्देश दिन सक्छ। केही अनलाइन माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले 'सबैभन्दा कम सुदूरपश्चिम' भन्ने तथ्य मात्रै राखेर त्यसलाई विभेदसँग जोड्दा धेरैले वास्तविकता नबुझीकन प्रतिक्रिया दिएका देखिन्छन्।
तथ्यांक आफैं गलत होइन, तर त्यसको सन्दर्भ नदिँदा भ्रम सिर्जना भएको हो।
सुदूरपश्चिमबाट ८५ जना मात्रै छात्रवृत्तिमा छनोट भएको तथ्य सही हो। तर यसको अर्थ सरकारले सुदूरलाई हेपेको वा बालेन शाहको कारण यस्तो भएको भन्ने होइन।
यो छात्रवृत्ति वैदेशिक रोजगारीमा मृत्यु भएका वा अशक्त भएका श्रमिकका सन्तानका लागि आवेदन, योग्यता र आवश्यक कागजातका आधारमा वितरण गरिएको हो। त्यसैले सामाजिक सञ्जालमा फैलाइएको 'बालेनले फेरि सुदूरलाई हेपे' भन्ने दाबी भ्रामक र तथ्यहीन देखिन्छ।