सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा लिएको आरोपमा कैलालीका शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ असार २७, ०४:५९ खबर संवाददाता

धनगढी: कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षक नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा, लाभ तथा सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले २०६६ मंसिर ३ गते बालविकास शिक्षक पदमा नियुक्ति लिन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (भारत) बाट माध्यमिक तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट खुलेको हो।

आयोगले नक्कली प्रमाणपत्रको आधारमा सरकारी पद, लाभ तथा सुविधा प्राप्त गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको सम्बन्धित कसुरमा कारबाहीको माग गरेको जनाएको छ। सोही आरोपमा कैद र जरिवानाको मागदाबी गर्दै आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा शाहीविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस