मल अभावले कैलालीका किसान चिन्तित, आवश्यकताको सानो अंश मात्रै पाएपछि धान उत्पादन घट्ने डर
धनगढीः धान खेतीको मुख्य समयमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तित बनेका छन्। आवश्यकताको तुलनामा निकै कम मात्रामा युरिया र डीएपी उपलब्ध भएपछि किसानले मल कसरी बाँड्ने र उत्पादन कसरी जोगाउने भन्ने दोहोरो समस्याको सामना गरिरहेका छन्।
घोडाघोडी नगरपालिका–४ स्थित पहुरा कृषि सहकारी संस्थामा आबद्ध करिब ५०० किसानका लागि धान खेतीमा २५० क्विन्टल युरिया र २५० क्विन्टल डीएपी आवश्यक पर्छ। तर सहकारीका अध्यक्ष विन्तीराम थारूका अनुसार साल्ट ट्रेडिङ धनगढीबाट हालसम्म २५ क्विन्टल युरिया र ४५ क्विन्टल डीएपी मात्र प्राप्त भएको छ भने थप १०–१० क्विन्टल उपलब्ध हुने सुनिश्चित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ क्विन्टल युरिया र ६ क्विन्टल डीएपी पाएको भए पनि त्यो आवश्यकताको तुलनामा अत्यन्तै न्यून रहेको उनले बताए।
“हाम्रो सहकारीमा पाँच सय किसान छन्। सबैलाई वितरण गर्न २५०/२५० क्विन्टल मल चाहिन्छ, तर यो पटक आएको मलले वितरण गर्नै समस्या भएको छ,” अध्यक्ष थारूले भने।
जोशीपुर गाउँपालिकाका डाइनामिक एग्रो प्रालिका सञ्चालक राजकुमार चौधरीले पनि मल अभावले किसान समस्यामा परेको बताए। १० बिघामा धान खेती गरेका उनलाई १५ क्विन्टल युरिया र १० क्विन्टल डीएपी आवश्यक भए पनि हालसम्म ६–६ क्विन्टल मात्र प्राप्त भएको छ।
“हाम्रो एग्रोमार्फत चार–पाँच सय किसानलाई मल वितरण हुँदै आएको छ। तर यो पटक कसलाई दिने र कसलाई नदिने भन्ने अवस्था आएको छ,” उनले भने, “मल अभावका कारण यस वर्ष धान उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ।”
धनगढी–१६ स्थित जन्मभूमि ग्रामीण विद्युत सहकारीले दुई गाउँका करिब ५०० किसानलाई मल वितरण गर्दै आएको छ। सहकारीलाई धान खेतीका लागि मात्रै १ हजार ६ सय क्विन्टल युरिया र १ हजार क्विन्टल डीएपी आवश्यक पर्ने भए पनि वैशाखयता ६० क्विन्टल युरिया र २२ क्विन्टल डीएपी मात्र प्राप्त भएको जनाएको छ।
स्थानीय किसान बालकृष्ण चौधरीले आफूलाई पाँच–पाँच बोरा युरिया र डीएपी आवश्यक रहे पनि हालसम्म दुई बोरा युरिया र तीन बोरा डीएपी मात्रै पाएको बताए। “मन्त्रीले मल पर्याप्त रहेको भन्नुहुन्छ, तर किसानले आवश्यकताको निकै कम मात्र पाएका छन्,” उनले गुनासो गरे।
सोही क्षेत्रका अर्का किसान गोविन्द चौधरीले रोपाइँ गरेको एक महिना पुग्न लाग्दा पनि पर्याप्त मल नपाएको बताए। “धान रोपेको २० दिनभित्र मल हाल्नुपर्छ। अहिले समय बितिसक्यो, मल छैन। मौसम र मल दुवै कारण उत्पादन घट्ने चिन्ता छ,” उनले भने।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीका अनुसार कैलालीमा धान खेतीका लागि वार्षिक करिब ३५ हजार मेट्रिक टन मल आवश्यक पर्छ भने सुदूरपश्चिमभर ५५ हजार मेट्रिक टन युरिया र करिब ३५ हजार मेट्रिक टन डीएपी आवश्यक हुन्छ। कैलालीमा मात्रै वार्षिक २२ हजार मेट्रिक टन डीएपी खपत हुने सरकारी तथ्यांक छ।
उनका अनुसार यस वर्ष धान खेतीका लागि साल्ट ट्रेडिङ धनगढीमा १८ हजार ९५० क्विन्टल (१ हजार ८९५ मेट्रिक टन) युरिया र २ हजार ९०७ मेट्रिक टन डीएपी प्राप्त भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नवलसिंह बोगटीका अनुसार चालु आर्थिक वर्षमा कम्पनीलाई १७ हजार ७० मेट्रिक टन युरिया र १२ हजार १८५ मेट्रिक टन डीएपी आपूर्तिको लक्ष्य दिइएको छ।
हाल धनगढीमा ३३०.६ मेट्रिक टन युरिया र ३०६ मेट्रिक टन डीएपी मौज्दात रहेको तथा महेन्द्रनगरमा २२० मेट्रिक टन युरिया र ११० मेट्रिक टन डीएपी रहेको उनले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा धनगढीबाट १५ हजार ३२७ मेट्रिक टन र महेन्द्रनगरबाट ४ हजार ७२७ मेट्रिक टन युरिया बिक्री भएको छ। यस्तै धनगढीबाट ८ हजार ३०० मेट्रिक टन र महेन्द्रनगरबाट २ हजार ३५७ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ।
अधिकारीहरूका अनुसार यस वर्ष इरान–अमेरिका द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारबाट मल आपूर्ति प्रभावित भएकाले किसानको मागअनुसार मल उपलब्ध गराउन कठिनाइ भएको हो। परिणामस्वरूप धानको मुख्य सिजनमै मल अभाव हुँदा उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।