कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–४ मनुवाबाट लागूऔषध खैरो हेरोइन ६३० मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय रमेश कुमार रावत कठरिया, टीकापुर नगरपालिका–४ बस्ने २४ वर्षकी सोनु राजवंशी र जोशीपुर गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोरी रहेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले रमेश कुमार रावत कठरियाको घर–कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध गाजाँ ३ ग्राम २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय महेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित चौधरीलाई पक्राउ गरेको जनाएको छ।