बर्खायाम सुरु भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द
कञ्चनपुर: बर्खायाम सुरु भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सञ्चालन हुँदै आएको जंगल सफारी शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
निकुञ्ज कार्यालयका अनुसार प्रत्येक वर्ष बर्खायाममा पर्यटन गतिविधि स्थगित गर्ने परम्पराअनुसार यस वर्ष पनि सफारी सेवा बन्द गरिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बर्खाका कारण सफारी मार्ग हिलोमय र जोखिमपूर्ण हुने भएकाले सेवा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार बर्खा सकिएपछि मात्रै सफारी पुनः सञ्चालनमा आउनेछ।
संरक्षित क्षेत्रहरूमा वर्षायामका बेला पर्यटन गतिविधि सीमित गरिने अभ्यास रहेको छ। लगातारको वर्षाले जंगलभित्रका सडक बिग्रने, हिलो जम्ने तथा आवागमन कठिन हुने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सफारी बन्द गरिएको निकुञ्जले जनाएको छ।
चालु आर्थिक वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा करिब ३,८०० पर्यटकले भ्रमण गरेका छन्, जुन अघिल्ला वर्षहरूको हाराहारीमा रहेको निकुञ्जको तथ्यांकले देखाउँछ।
निकुञ्जमा पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्न नसक्नुमा प्रभावकारी प्रचारप्रसारको अभाव, पर्यटनमैत्री भौतिक पूर्वाधारको कमी तथा आवश्यक सुविधाको अभाव प्रमुख कारणका रूपमा देखिएको छ।