भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की
धनगढीः विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन् ।धनगढी उपमहानगरपालिका–३ बडहराकी माया कार्की भारतको जम्मु–कश्मीरमा सिकेको कुखुरा पालनसम्बन्धी सीपलाई स्वदेशमै प्रयोग गर्दै उनी आज सफल उद्यमीका रूपमा स्थापित भएकी छन्।
विगत १८ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएकी कार्कीले यही व्यवसायबाट परिवारको जीविकोपार्जन मात्र होइन, घर निर्माण र जग्गा जोड्न समेत सफल भएकी छन्।
व्यवसाय सुरु गर्नुअघि कार्की भारतको जम्मु–कश्मीरमा करिब नौ वर्षसम्म कुखुरा फार्ममा काम गर्थिन्। त्यहीँ काम गर्ने क्रममा उनले कुखुरा पालनको व्यावहारिक ज्ञान र अनुभव हासिल गरिन्। त्यसपछि आफ्नै देशमा केही गर्ने अठोटका साथ नेपाल फर्किएर व्यावसायिक कुखुरा पालन व्यवसाय सुरु गरिन्।
“अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा मेहनत गरेर केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय थालेँ,” कार्की भन्छिन्।
उनले सुरुमा ५०० वटा कुखुराबाट व्यवसाय सुरु गरेकी थिइन्। व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि विस्तारै फार्म विस्तार गर्दै कुखुराको संख्या बढाइन्। हाल उनले लोकल र ब्रोइलर दुवै जातका कुखुरा पाल्दै आएकी छन्।
कार्कीका अनुसार लोकल कुखुराबाट उत्पादन हुने अण्डा र कुखुरा दुवै राम्रो मूल्यमा बिक्री हुने भएकाले आम्दानी पनि सन्तोषजनक छ। ब्रोइलर कुखुराको मूल्य भने बजारको अवस्थाअनुसार घटबढ भइरहने गरेको उनी बताउँछिन्।
रोजगारीका लागि उनले आफ्ना छोरालाई विदेश पठाएकी थिइन्। तर अपेक्षाअनुसार आम्दानी हुन नसकेपछि छोरालाई स्वदेश फर्काएर अहिले सम्पूर्ण परिवारलाई यही व्यवसायमा संलग्न गराएकी छन्।
हाल कार्की परिवारले धनगढीमा तीन स्थानमा कुखुरा फार्म सञ्चालन गरिरहेको छ। यही व्यवसायबाट तीन छोराछोरीसहित पाँच सदस्यीय परिवारको सम्पूर्ण खर्च धानिएको छ। व्यवसायबाट भएको आम्दानीले उनले घर निर्माण गर्नुका साथै जग्गा समेत जोड्न सफल भएकी छन्।
कार्कीका अनुसार कुखुरा पालन व्यवसायबाट वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
विदेशमा कम ज्यालामा श्रम बेच्नुभन्दा आफ्नै गाउँठाउँमा सीप, मेहनत र लगनशीलताको सदुपयोग गर्दै व्यवसाय गरे सम्मानजनक आम्दानी गर्न सकिने उनको अनुभव छ। माया कार्कीको सफलताले स्वदेशमै अवसर खोज्ने युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने प्रेरणा दिएको छ।