कैलालीमा स्कुलबाट बेपत्ता भएकी बालिका मृत फेला
धनगढीः कैलालीको लम्कीचुहामा विद्यालयबाट निर्धारित समय अगावै छुटेकी एक बालिका मङ्गलवार बेपत्ता भएकोमा बुधवार मृत फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ६ वर्षीया मनिषा विक बुधवार बिहान १०ः४० मा मृत फेला परेकी हुन्।
वडा नम्बर ४ निवासी मनिषालाई मङ्गलवार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्याएकी थिइन्। विद्यालयको नियमित बिदा समय ११ बजे भए पनि मंगलबार भने ९ बजे नै बिदा भएको थियो। हजुरआमा ११ बजे मात्र विद्यालय लिन आउँदा मनिषा विद्यालयमा थिइनन्।
बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो। बुधवार प्रहरी र स्थानीयले खोजतालास गर्ने क्रममा लाम्कीचुहा-५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएपी योगेन्द्र तिमिल्सिनले जनाकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।