पहलमानपुरमा कुखुरा बोकेको बलेरो गाडीको ठक्करबाट साइकलयात्री गम्भीर घाइते, चालक पक्राउ
धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक साइकलयात्री गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहान करिब ६ः२० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ च १३७८ नम्बरको कुखुरा बोकेको बलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेका घोडाघोडी नगरपालिका–५ निवासी अन्दाजी १६ वर्षीय सन्दीप चौधरीलाई ठक्कर दिएको हो। ठक्करपछि बलेरो जिप सडकमै पल्टिएको थियो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पहलमानपुरबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर खड्काको नेतृत्वमा ट्राफिकसहित चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते चौधरीलाई तत्काल उद्धार गरी सीवाईएस अस्पताल सुखड लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको छ। उपचारका क्रममा उनका बुवा पहाडीलाल चौधरी पनि अस्पतालमा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका बलेरो चालक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ निवासी ४५ वर्षीय सर्जन सार्कीलाई नियन्त्रणमा लिइएको छ। जिपमा रहेका सहचालक सोही स्थानका ३१ वर्षीय नरेन्द्र भारती रहेका थिए।
दुर्घटनामा संलग्न बलेरो जिप र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि राजमार्गमा यातायात सञ्चालन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।