सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता

फाइलः फोटो
फाइलः फोटो
२०८३ असार १४, ०६:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ।

नगरपालिकाले शनिबार १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारु समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत प्राप्त गरेको हो।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार कार्यविधि पारित भएसँगै भलमन्सा–बडघर प्रणालीलाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित सञ्चालन गर्न कानुनी आधार तयार भएको छ। राना थारु समुदायको स्थानीय संस्कृति, परम्परा र सामाजिक व्यवस्थापनको अभ्यासलाई सम्मान गर्दै नगरपालिकाले ऐतिहासिक निर्णय गरेको नगर प्रमुख बोगटीले जानकारी दिए।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम चौधरी थारु समुदायले लामो समयदेखि उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको बताए। “थारु समुदायको पहिचान, संस्कृति र परम्परागत बडघर–भलमन्साको चलनको संरक्षणका लागि यो एकदमै स्वागतयोग्य निर्णय हो,” चौधरीले भने, “लामो समयदेखि हामीले उठाउँदै आएको मागलाई नगरपालिकाले सम्बोधन गरेको छ।” थारु समुदायका अगुवा बेद चौधरीले नगरपालिकाको उक्त निर्णयको स्वागत गर्दै कार्यविधि कार्यान्वयनसँगै थारु समुदायको मौलिक परम्परा संरक्षण भएको बताए।

“कञ्चनपुरका केही पालिकाहरूमा यो कार्यविधि लागू भइसकेको अवस्था थियो अहिले भीमदत्त नगरपालिकाले पनि कानुनी मान्यता दिएको छ।” उनले भने, “स्थानीय सरकारबाट कानुनी मान्यता पाएपछि अब बडघर–भलमन्सासम्बन्धी कार्यसम्पादन गर्न थप सहज हुन्छ।” कार्यविधिले बडघर तथा भलमन्साको छनोट, अधिकार, जिम्मेवारी, आचारसंहिता तथा सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहबाट परम्परागत संस्थालाई कानुनी मान्यता दिने यो निर्णयले थारु समुदायको पहिचान जोगाउनाका साथै परम्परागत नेतृत्व प्रणालीलाई स्थानीय शासनसँग जोड्दै सामाजिक सद्भाव र विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस