आतिथ्य र स्वच्छता सम्बन्धी तालिम सुरु
धनगढीः धनगढीमा आतिथ्य र स्वच्छता सम्बन्धी तालिम सुरु भएको छ। होटेल व्यवसायी महासंघसँगको समन्वय र होटेल व्यवसायी संघ कैलालीको सहकार्यमा नेपाल पर्यटन बोर्डले तालिमको आयोजना गरेको हो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा ४० जना प्रशिक्षार्थी सहभागी छन्। तालिममा सहभागीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइने होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले जानकारी दिए। छोटो अवधिको तालिम भए पनि सहभागीहरुले केही न केही सिकाइ हुने अपेक्षा गरिएको उनले बताए।
सेफसहित चार जना प्रशिक्षकले तालिमको सहजीकरण गरिरहेका छन्। उद्घाटन कार्यक्रममा होटेल व्यवसायी महासंघका पर्यटन उपाध्यक्ष कलमबहादुर बमले होटेल व्यवसाय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताए। उनले होटेल क्षेत्रले राज्यलाई बर्षेनि ठूलो कर तिर्नुका साथै धेरैलाई रोजगारी दिएको बताए।
‘सुदूरपश्चिमका प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको उपयोग गरेर होटेलबाट आम्दानी गर्न सक्छौँ’ उपाध्यक्ष बमले भने। उनले तालिममा सिकेको ज्ञान–सीपलाई व्यवहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गरे।
आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख भीमप्रसाद काफ्लेले करका विभिन्न शीर्षकमा राज्यले दिएको छुट सुविधा उपभोग गर्न व्यवसायीलाई आग्रह गरे। होटेल व्यवसाय सञ्चालन गर्दा कानुनको पालना गर्न र श्रमिकको हकहितमा पनि ध्यान दिन उनले आग्रह गरे। काफ्लेले होटेल व्यवसायीलाई लक्षित गरेर आन्तरिक रावस्व कार्यालय धनगढीले करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।