सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छः मुख्यमन्त्री शाह

२०८३ असार १२, ०८:५६ खबर संवाददाता

कैलालीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताएका छन्।

धनगढीमा बिहीवार आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताए। सुदूरपश्चिम प्रदेश भाषा, कला, संस्कृतिमा बेग्लै पहिचान बोकेको क्षेत्र भएकाले यसलाई जोगाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए।

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा मौलिक लोक साहित्यका रुपमा रहेका डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता विधा भएकाले यसको जर्गेना गर्न आवश्यक रहेको बताए। उनले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवद्र्धन र अनुसन्धानमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको प्रशंसा गरे।

आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवद्र्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे। सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस