बजेट संशोधन नगरे एमाले सरकारबाट बाहिरिने
धनगढीः नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति कडा असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नभएको निष्कर्ष निकाल्दै बजेटमा सुधार गर्न माग गरेको हो। प्रदेश उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेटलाई एकतर्फी ढंगले अघि बढाइएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ कि संयुक्त सरकारको सहमति विपरीत बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाइएको छ र संसदीय दललाई आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। संशोधन नगरिएमा संयुक्त सरकारमा निरन्तरता दिन नसकिने निर्णयसमेत गरिएको छ।
धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा जिल्लास्तरीय गतिविधिको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयमा छलफल गरिएको थियो।
एमालेले संघीय बजेटमा सुदूरपश्चिम, विपन्न वर्ग र दुर्गम क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै थप बजेट र कार्यक्रमको माग गरेको छ।
बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको छ। साथै नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बलद्वारा सीमा स्तम्भ भत्काइएको घटनाको विरोध गर्दै कूटनीतिक नोट पठाउन सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, समयमा मल उपलब्ध नभएकोप्रति चिन्ता व्यक्त गर्दै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारलाई अनुरोध गरिएको छ। केही मन्त्रीका अभिव्यक्ति र संवैधानिक आयोगका पदाधिकारीप्रति भएको व्यवहारलाई पनि बैठकले आपत्तिजनक भन्दै आलोचना गरेको छ।
बैठकले हालै धनगढीमा सम्पन्न निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेतृत्वलाई धन्यवाद समेत ज्ञापन गरेको छ।