सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोपाइँको सिजनमै कैलालीमा डिएपी मलको अभाव, किसानहरू समस्यामा

२०८३ असार ८, ०३:४१ खबर संवाददाता

धनगढीः कैलालीमा धान रोपाइँको मुख्य सिजन चलिरहेकै बेला डिएपी मलको अभाव देखिएपछि किसानहरू समस्यामा परेका छन्। असार सुरु भएसँगै रोपाइँमा व्यस्त किसानहरूलाई रोपाइँपछि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता बढेको छ।

धनगढी–३ की किसान प्रतिभा राना यस वर्ष मल अभावकै बीच धान रोपाइँ गर्न बाध्य भएको बताउँछिन्। उनले विगतमा सहकारीमार्फत सुलभ मूल्यमा मल पाउने गरे पनि यस पटक सहज आपूर्ति नहुँदा समस्या भएको बताइन्। 'किसानले समयमा मल पाउँदैनन्, मल नहुँदा बालीको उत्पादनमा असर पर्छ,' उनको भनाइ छ।

त्यस्तै अर्का किसान छटन रानाले प्राङ्गारिक मल पर्याप्त नहुँदा रासायनिक मलमा निर्भरता बढेको तर त्यसको समेत अभाव देखिएको गुनासो गरे। 'जुन सरकार आए पनि मलको व्यवस्था हुँदैन,' उनले भने।

किसानहरूले सहकारीमार्फत सहुलियत दरमा मल नपाएपछि निजी एग्रोभेट तथा भेटेरेनरी पसलबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएको बताएका छन्। सिजनको समयमा हरेक वर्ष दोहोरिने मल अभावले किसानहरू थप चिन्तित बनेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रबन्धक नवलसिंह बोगटीका अनुसार हाल डिएपी मलको मौज्दात सकिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै कैलालीमा १४ हजार ५ सय ६२ मेट्रिक टन युरिया, ८ हजार २ सय ३६ मेट्रिक टन डिएपी र ७ सय ३१ मेट्रिक टन पोटास मल वितरण भइसकेको छ।

उनले किसानले अपेक्षाभन्दा बढी मात्रामा डिएपी माग गरेकाले मौज्दात सकिएको बताए। साथै, २ हजार मेट्रिक टन क्षमता भएको वितरण केन्द्र भए पनि आपूर्ति व्यवस्थापनका समस्या र ढिलाइका कारण समयमै मल पुर्‍याउन कठिन भएको उनको भनाइ छ।

मल अभावसँगै आकाशे वर्षा पनि नहुँदा किसानहरू दोहोरो मारमा परेका छन्। हाल बजारमा डिएपी मल प्रतिक्विन्टल करिब २ हजार २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ भने युरिया मलको खुला बिक्रीमा प्रतिबन्ध रहेको छ।

किसानहरूले संघ, प्रदेश र स्थानीय सरकारलाई समयमै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्, अन्यथा उत्पादन घट्ने र कृषि प्रणाली प्रभावित हुने उनीहरूको चेतावनी छ।

कमेन्ट लोड गर्नुस