कनरी–चौमाला कृषि सडकको निर्माण अलपत्र
कैलालीको धनगढी उप–महानगरपालिका कनरीदेखि बेहडाबाबा हुँदै चौमाला जोड्ने कृषि सडक वर्षाैदेखि अलपत्र छ। साविकको जिल्ला प्राविधिक कार्यालयले ग्रावेलको काम गरेपनि त्यसपछि कालोपत्रेको योजना अगाडी बढ्न नसकेको हो। संघिय संरचना पछि सो सडकमा ग्रावेल समेत हालिएको छैन्। वर्षातको समयमा हिलाम्य सडकमा हिड्न बाध्य छौ, धनगढी उर्मीका कमल ढाटले भने, हिउँदमा धुलोले आवतजावत गर्नै मुस्किल हुने गरेको छ।
अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीको मातहतमा उक्त सडक आएको छ। कालोपत्रेको योजना अगाडी बढाउने तयारी गरेको पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख श्याम खड्काले बताए। ‘चालु आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्रेका लागि टेण्डरको प्रक्रिया केहि दिनमा सुरु हुन्छ,’ उनले भने, ‘त्यो सडकको डीपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ, केही दिन भित्र पाँच किलोमिटर कालोपत्रेका लागि टेण्डर हुन्छ।’ सडक स्तरोन्नती शिर्षकमा चालु आर्थिक वर्षमा एक करोड ५० लाख प्रदेश सरकारले विनियोजन गरेको उनले बताए।
पर्यटकीय र कृषि उपजहरुको बजारीकरणका दृष्टीकोणले यो सडक महत्वपूर्ण हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ रामपुरमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र बेहडाबाबाका भक्तजन तथा सो क्षेत्रका कृषकलाई कृषि उपज बजारीकरणका लागि धनगढीसंग जोड्ने सोही सडक हो। धनगढीको कनरी देखि चौमालाको झिलसम्म १८ कलिोमिटर सडक छ। लामो समयसम्म राष्ट्रिय ग्रामीण यातायात पुर्वाधार सुदृढीकरण कार्यक्रमले सडक निर्माण गर्ने चर्चा चलेका बेला अहिले सडक प्रदेश सरकारको मातहत आएको हो। साविकको जिल्ला प्राविधिक कार्यालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बताएको थियो।
गत आर्थिक वर्षमा पुनः प्रदेशको पूर्वाधार विकास कार्यलय कैलालीले पनि डीपीआर तयार गरेको दावी गरेको छ।