सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ३८ अर्बको बजेट, बचत र सङ्घीय अनुदानमै मुख्य भर

२०८३ असार २, ०१:३९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले आन्तरिक आम्दानीभन्दा संघीय अनुदान र चालु आर्थिक वर्षको बचत रकमलाई प्रमुख स्रोतका रूपमा राख्दै बजेट ल्याएको हो।

बजेटको स्रोततर्फ प्रदेश सरकारले आन्तरिक आयबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

सङ्घीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ भने सङ्घको वित्तीय समानिकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

यसैगरी, चालु आर्थिक वर्षको बजेट बचतबाट ९ अर्ब ६५ करोड रुपैयाँ आगामी वर्षको बजेटमा समावेश गरिएको छ। सङ्घीय सरकारबाट प्राप्त हुने शर्तसहितको अनुदान (सशर्त अनुदान) ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

यस्तै, सङ्घीय समपुरक अनुदानअन्तर्गत ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानअन्तर्गत ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सङ्घीय अनुदान र चालु वर्षको बचत रकमको हिस्सा उल्लेख्य रहेको देखिन्छ। कुल बजेटमध्ये ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र राजस्व बाँडफाँटबाट जुटाइने भएको छ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, आन्तरिक आम्दानी वृद्धि तथा विकास खर्चको प्रभावकारी परिचालन प्रदेश सरकारका लागि मुख्य चुनौतीका रूपमा रहने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस