निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिनू’ भन्ने मन्त्री लम्सालको अभिव्यक्तिप्रति आलोचना
काठमाडौँ: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायी तथा ठेक्का सम्बन्धित पक्षलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि व्यापक आलोचना भएको छ।
आइतबार नागढुंगा–मुग्लिन सडकखण्डको निरीक्षणका क्रममा स्थानीयले विद्युत् पोल नसारिँदा सडक निर्माणमा ढिलाइ भएको गुनासो गरेपछि मन्त्री लम्सालले काममा लापरवाही गर्ने ठेकेदारमाथि कडा टिप्पणी गरेका थिए।
निरीक्षणस्थलमा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा उनले विद्युत् पोल सार्ने ठेकेदारलाई खोजेर ल्याउन निर्देशन दिँदै काम नगरे “खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति दिएका थिए। उनले स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती भोग्नुपरेको भन्दै पोल यथाशीघ्र सारेर काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
मन्त्री लम्सालले निर्माण कार्यमा आवश्यक सामग्री तथा सहजीकरणको व्यवस्था सरकारले गर्ने उल्लेख गर्दै सम्बन्धित पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका थिए।
तर मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक वृत्तमा विरोध सुरु भएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतले मन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा पनि धेरै प्रयोगकर्ताले कानुनी राज्यमा हिंसात्मक भाषा प्रयोग गर्नु अनुचित भएको टिप्पणी गरेका छन्।
यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन) ले समेत चुनावअघि ठेकेदारलाई रुखमा बाँधेर काम गराउने चेतावनी दिएको अभिव्यक्ति चर्चामा आएको थियो।