कैलालीमा टेम्पो घटनाको छानविन गर्न समिति गठन
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताए।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर ध्वजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भन्दै भिडियो सार्वजनिक भएपछि घटना विवादमा परेको थियो। सो घटनापछि प्रदेश सरकारले गम्भीर रूपमा लिँदै छानबिन समिति गठन गरेको हो।
सचिव कोइरालाका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारबाही गरिनेछ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।