सुदूर नेपाललाई विश्वसँग जोड्दै

विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०८३ जेठ २८, ०४:५९ जयन्त सिंह भाट

धनगढीः विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई लक्षित गर्दै धनगढीका विभिन्न विद्यालय र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे छ। 

सेभ द चिल्ड्रेन र विकासका लागि युवा एक्यवद्धता (यार्ड)को साझेदारीमा सञ्चालित सहयोग परियोजना अन्तर्गत जेठ २६ गते धनगढी उपमहानगरपालिकाका विभिन्न वडास्थित सामुदायिक विद्यालयमा शैक्षिक तथा बालमैत्री कक्षा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रमअनुसार धनगढी उपमहानगरपालिका–२ स्थित नवदुर्गा माध्यमिक विद्यालय, वडा नं. ११ स्थित ठेकराज माध्यमिक विद्यालय, वडा नं.  १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालय तथा वडा नं. ५ स्थित पञ्चाेदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड, जुत्ता, झोला, कार्पेट, पी–फर्म, डस्टबिन, किताब, बुक प्याक राउन्ड टेबललगायत सामग्री वितरण गरिएको यार्डकी महासचिव सुमित्रा बिष्टले बताइन्। सामग्री वितरणबाट १४० जना बालबालिका लाभान्वित भएका छन्।यार्डकी महासचिव बिष्टले जोखिममा रहेका बालबालिकाको सहभागिता र संरक्षणका लागि संस्था सधैँ प्रतिबद्ध रहेकाे बताइन्। उनका अनुसार ठूला बालबालिकाका लागि प्रति व्यक्ति २ हजार ५ सय ९२ रुपैयाँ र साना बालबालिकाका लागि प्रति व्यक्ति २ हजार ५ सय १३ रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो। कुल ३ लाख ५७ हजार ४२ रुपैयाँ बराबरको सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको उनले जानकारी दिइन्।परियोजनाको उद्देश्य संरक्षणको दृष्टिले जोखिममा रहेका बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुका साथै सामुदायिक विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री वातावरण स्थापना गर्नु रहेको आयोजकले जनाएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा बालबालिकाका अभिभावकहरूको सहभागिता रहेको थियो।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस