आजबाट फिफा विश्वकप २०२६ सुरु
काठमाडौंः विश्व फुटबलकै महाकुम्भ मानिने फिफा विश्वकप– २०२६ को ऐतिहासिक र भव्य शंखनाद आजबाट उत्तर अमेरिकामा हुँदैछ।
पहिलोपटक कुल ४८ राष्ट्रहरूले आफ्नो देशको झण्डा र सपना बोकेर मैदानमा उत्रिन लागेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा विशेष र कीर्तिमानी बन्ने भएको छ। अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आतिथ्यतामा आयोजना हुन लागेको यो ‘मेगा इभेन्ट’ केवल खेलमात्र नभई इतिहासकै सबैभन्दा विशाल महोत्सव बन्ने निश्चित छ। विगतको तुलनामा थप १६ टोलीहरू थपिँदै कुल १ सय ४ खेलहरूको रोमाञ्चक भिडन्त हुने यो प्रतियोगिताले विश्वकपको इतिहासमै नयाँ रेकर्ड कायम गर्नेछ।
सन् १९९४ को आयोजक अमेरिका र दुईपटकको अनुभवी आयोजक मेक्सिकोका लागि यो अनुभव परिपक्वताको परीक्षा हुनेछ भने पहिलोपटक विश्वकप आयोजनाको अवसर पाएको क्यानडाका लागि यो एउटा सुनौलो इतिहासको सुरुवात हुनेछ। खेलप्रेमीहरूको ढुकढुकी बढाउने गरी यसपटक तीनवटै आयोजक राष्ट्रहरूले अलग–अलग र अद्वितीय उद्घाटन समारोहहरूको घोषणा गरेर विश्वलाई नै चकित पारिदिएका छन्। यो महाकुम्भको पहिलो ऐतिहासिक ढोका मेक्सिको सिटीको प्रख्यात एस्टाडियो अज्टेका स्टेडियमबाट खुल्नेछ।
जहाँ नेपाली समयअनुसार बिहीबार राति ११ः४५ बजेबाट मेक्सिकन संस्कृति, आधुनिक प्रविधि र संगीतको जादुमयी फ्युजन सुरु हुनेछ। यो उत्सव कतिसम्म विशेष छ भने मेक्सिकोमा आजका दिन स्कुलहरू पूर्ण रूपमा बन्द रहनेछन्। यो सांगीतिक महासंग्राम सकिएलगत्तै नेपाली समयअनुसार बिहीबारकै मध्यराति १२ बजेर ४५ मिनेटमा मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकप २०२६ को पहिलो उद्घाटन खेलको घमासान सुरु हुनेछ।
उत्सवको यो राप र ताप मेक्सिकोमा मात्र प्रवाह हुने छैन, शुक्रवार राति क्यानडाको टोरोन्टोस्थित बीएओ फिल्डमा दोस्रो उद्घाटन समारोहमा पनि जारी रहनेछ। क्यानेडेली भुइँमा पहिलोपटक खुट्टा टेक्न लागेको यो विश्वकपलाई स्वागत गर्न माइकल बुब्ले, बलिउड सनसनी नोरा फतेही र बंगलादेशी–अमेरिकी डीजे सञ्जयलगायतका कलाकारहरूले स्टेज तताउनेछन्।
त्यसलगत्तै नेपाली समयअनुसार शुक्रवार राति १२ बजेर ४५ मिनेटमा आयोजक क्यानाडाले बोस्निया हर्जगोबिनासँग ऐतिहासिक भिडन्त गर्दै आफ्नो पहिलो विश्वकप खेलको सुरुवात गर्नेछ। त्यसै गरी, तेस्रो सह–आयोजक राष्ट्र अमेरिकाले लस एन्जेलसको अत्याधुनिक सोफी स्टेडियममा पप स्टार केटी पेरी, ¥यापर फ्युचर, ब्ल्याकपिंककी चर्चित सदस्य लिसा र नाइजेरियाली स्टार रेमाको विशाल प्रस्तुतिसहित तेस्रो उत्सव मनाउनेछ। अमेरिकाको मैदानमा नेपाली समयअनुसार जेठ ३० गते बिहान ६ बजेर ४५ मिनेटमा आयोजक अमेरिका र पाराग्वेबीचको खेलसँगै यो खेलकुदको महामेलाले नयाँ गति लिनेछ। जसले खेल इतिहासमा कहिल्यै नमेटिने एउटा सुनौलो कीर्तिमान खडा गर्नेछ।