सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुला जिल्लामा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने

२०८३ जेठ २६, ०७:०१ जयन्त सिंह भाट

दार्चुला: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला जिल्लामा निःशुल्क आँखाको परीक्षण तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले गेटा आँखा अस्पतालसंगको सहकार्यमा स्थानीय समुदायको स्वास्थ्य सुधार तथा आँखा सम्बन्धी समस्याको समयमै पहिचान र उपचारलाई सहज बनाउन यो कार्यक्रम सञ्चालन गर्न लागेको बैङ्कका दार्चुला जिल्ला शाखा प्रबन्धक केशवराज जोशीले जानकारी दिएका छन्। 

दार्चुला जिल्लाभरका नागरिकलाई लक्षित गरी सञ्चालन गरिने उक्त शिविरमार्फत विशेषगरी आर्थिक रूपमा विपन्न, पिछडिएका समुदाय, ज्येष्ठ नागरिक तथा नियमित स्वास्थ्य सेवाबाट टाढा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

शाखा प्रबन्धक जोशीका अनुसार आँखा शिविर दुई स्थानमा सञ्चालन हुनेछ। पहिलो शिविर जेठ २९ गते जिल्ला अस्पताल, खलंगा, दार्चुलामा आयोजना गरिनेछ भने दोस्रो शिविर जेठ ३० गते दुहु गाउँपालिका, हिकिला क्षेत्रमा सञ्चालन गरिनेछ।

दुबै स्थानमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागितामा आँखाको विस्तृत परीक्षण, दृष्टि सम्बन्धी समस्या पहिचान, आवश्यक परामर्श तथा प्रारम्भिक औषधि वितरण गरिने उनले बताए। साथै, जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सहजीकरण गरिने जनाइएको छ। 

शिविरमा मोतियाबिन्दु लगायत अन्य आँखासम्बन्धी रोगहरूको पहिचान गरी आवश्यक परेमा शल्यक्रिया तथा विशेषज्ञ उपचारका लागि समेत सिफारिस गरिने व्यवस्था मिलाइएको छ। बैंकले यस कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

दार्चुला जिल्लावासीलाई शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन बैंकले आग्रह समेत गरेको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस