सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस असन्तुष्ट पक्षबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुङ्गियो

२०८३ जेठ २५, ०८:०७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला नेपाली काँग्रेसको असन्तुष्ट पक्षबाट सरकारमा पठाइने तीन जनाको नाम लगभग टुङ्गिएको बताइएको छ।

असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टले आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट गर्दै सात जना आकांक्षीमध्ये तीन जनाको नाम आफ्नो तर्फबाट अन्तिम रूप दिइसकेको जानकारी दिएका छन्।

दिनेशखबरसँग कुरा गर्दै विष्टले समूहभित्र तीन जनाको नाममा सहमति जुट्न नसकेपछि आफूले सिफारिस गर्ने नामको सूची तयार गरिसकेको बताए। उनले ती नाम मुख्यमन्त्रीले माग्नेबित्तिकै बुझाउने तयारी रहेको समेत उल्लेख गरे।

“हाम्रो समूहमा सात जना सांसद आकांक्षी हुनुहुन्छ। तीन जनाको नाममा सर्वसम्मति जुट्न सकेको छैन,” विष्टले भने, “मेरो तर्फबाट सरकारमा पठाउने तीन जनाको नाम टुङ्गो लगाइसकेको छु। मुख्यमन्त्रीले बोलाउनासाथ बुझाउने गरी सूची तयार छ। तर ती नाम अहिले सार्वजनिक गर्न सकिँदैन, साँझसम्म सबैले थाहा पाउनुहुनेछ।”

काँग्रेसभित्र चुलिएको विवाद मन्त्रिपरिषद् पुनर्गठनमार्फत समाधान गर्ने सहमतिपछि नयाँ मन्त्री चयनको प्रक्रिया अघि बढेको हो। पार्टीका केन्द्रीय सहमहामन्त्री उदयशमशेर राणाको मध्यस्थतामा मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट पक्षबीच सरकारमा नयाँ मन्त्री पठाउने सहमति भएको थियो।

सहमतिअनुसार असन्तुष्ट पक्षले सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसहित एक राज्यमन्त्रीको जिम्मेवारी पाउनेछ।

स्रोतका अनुसार मुख्यमन्त्री पक्षबाट आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामीको नाम लगभग निश्चित भएको छ। यस्तै, राज्यमन्त्रीमा डम्बरी महरा र मधु भारतीमध्ये एक जनालाई जिम्मेवारी दिने तयारी छ।

असन्तुष्ट पक्षबाट भने मन्त्रीमा बाजुराका पदमबहादुर शाही र कञ्चनपुरका बेलबहादुर राना मगर तथा राज्यमन्त्रीमा बाजुराकै जुना दानीको नाम सिफारिस हुने सम्भावना रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस