सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्पत्ति विवरण माग्ने सरकारलाई ओलीको जवाफ: ‘खरानी छ, उठाएर लैजा’

२०८३ जेठ २०, ०२:१४ खबर संवाददाता

काठमाडौँः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पत्ति विवरण माग्ने कदमलाई ‘पूर्वाग्रह र प्रतिशोधको पोको’ भन्दै अस्वीकार गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक तथा कानुनी निकायहरू सक्रिय रहेकै अवस्थामा सरकारले नयाँ समिति गठन गर्नु विपक्षी दलका नेताहरूलाई फसाउने नियतबाट प्रेरित भएको आरोप लगाए।

उनले कसैको अकुत सम्पत्ति देखिए कानुनअनुसार छानबिन गर्न सकिने भए पनि आफ्नो सम्पत्ति जलेर खरानी भइसकेको अवस्थामा सम्पत्ति विवरण माग्नुको कुनै अर्थ नरहेको बताए।

'कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाइएका ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने हो भने म सम्पत्ति विवरणको सट्टा खरानी नै भरिदिन्छु,' ओलीले भने, 'फेरि आगो लगाएर पुगेन, अब सम्पत्ति विवरण पनि चाहियो रे ! खरानी छ, उठाएर लैजा सरकार। केको सम्पत्ति विवरण ?'

उनले सरकारका पछिल्ला गतिविधि राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै विपक्षीलाई लक्षित गरेर अनावश्यक विवाद सिर्जना गर्न खोजिएको टिप्पणी गरे।

कमेन्ट लोड गर्नुस