विषादीरहित तरकारी उत्पादन गर्दै टीकापुर र जानकीका किसान
टीकापुरः कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ। विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो।
प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका तरकारीको नमूना सङ्कलन गरेको थियो। त्यसक्रममा काक्रो, हरियो फर्सी, भिण्डी, तितेकरेला, लौका, खुर्सानी, गोलभेडा, तरभुजा, बोडी, घिरौला, बन्दागोभीलगायतका तरकारीको परीक्षण गरेको हो। परीक्षण गर्दा कार्वामेटको रोकावट प्रतिशत चार दशमलव ६७ सम्म र अर्गानोफस्फेट अन्य तरकारीमा रोकावट प्रतिशत नौ दशमलव आठ प्रतिशतसम्म भेटिएको थियो भने बोडीमा ३३ दशमलव ३७ रोकावट प्रतिशत भेटिएको छ।
विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले अर्गानोफस्फेटको प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने बताए। 'रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग गर्न योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ', उनले भने, '४५ प्रतिशतमाथि देखिएमा सोही ठाउँमा बिर्सजन गर्नुपर्ने व्यवस्था छ।'
यहाँ मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादीरहित तरकारीखेती गरिरहेका छन्। गुड नेवर्स इन्टरनेशनल नेपालले, सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ। परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनका लागि प्राकृतिक खेतीका लागि प्रोत्साहन गरिरहेको जनाइएको छ।
परियोजनाका ‘कलस्टर’ संयोजक अरुण चौधरीका अनुसार तीन वर्षदेखि सञ्चालित परियोजनामा यसअघि तीन सय जना किसान आबद्ध रहेकामा यस वर्ष थप तीन सय गरी छ सय किसानले ५० बिघा जमिनमा प्राकृतिक खेती गरिरहेका छन्। परियोजनामाफर्त किसानलाई आवश्यक बीउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ।
यसले उपभोक्ताको स्वास्थ्य र किसानको आयआर्जनमा सहयोग भइरहेको परियोजनाका कलस्टर संयोजक चौधरीले बताए। 'यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौँ आम्दानी गरिरहेका छन्। छापो राख्ने, खनजोतबिना वा न्यूनतम खनजोत, कम्पोष्ट मल प्रयोग र सूक्ष्म जीवको वृद्धि गर्ने चार सिद्धान्तमा आधारित रहेर काम गर्न प्रोत्साहन गरिरहेका छौँ', उनले भने।
किसानलाई जिम्मेवार बनाउन समय समयमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ। जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा परीक्षण नहुँदा तरकारीमा अन्धाधुन्द विषादी छर्ने गरिएकामा अचेल पिना, गोबर मल र जैविक मलको प्रयोग गरिरहेको बताए। उनले दुई कट्ठामा तरकारी गरिरहेका छन्।
'परियोजनाले तालिम तथा आवश्यक सहयोग गरेपछि विषादी प्रयोगबारे सचेत भएकी छु। यसले उपभोक्तामा पनि सकारात्मक सन्देश गएको छ', चौधरीले भनिन्।
अर्का किसान रामनारायण चौधरीले आफूले १५ कट्ठा जमिनमा तरकारीखेती गर्दा दैनिक दुई हजारसम्मको तरकारी बिक्रीबाट लाभ लिइरहेको बताए। उनले जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन्। 'हाम्रो बारीमा विषादी प्रयोग नगरिएको तरकारी पाइन्छ। आजभोलि गाउँका मानिस पनि अर्गानिक तरकारी पाइन्छ भनेर बारीमै किन्न आउँछन्। यस वर्ष काक्रो मात्रै ४० क्विन्टलभन्दा बिक्री भयो। उत्पादनको बजारीकरणका लागि कुनै समस्या छैन', चौधरीले सुनाए।
अर्का किसान श्यामसुन्दर चौधरीले ६ कट्ठा जमिनमा व्यावसायिक तरकारीखेती गरेर लाभ लिइरहेको बताए। उनले भने, 'बाली रोप्नुअघिदेखि नै माटो संरक्षणमा ध्यान दिने गरेका छु। यसबाट हुने उत्पादनले परिवार, आमउपभोक्ता र माटोको स्वास्थ्य सुधारमा पनि योगदान पुगेको छ। विषादी प्रयोग गर्न छोडेपछि धेरै फाइदा हुँदो रहे छ नि!'
उनले यस वर्ष ५० हजारको टमाटर र ४० हजारको काक्रा बिक्री गरेको जानकारी दिए।
जानकी गाउँपालिकाका कृषि प्राविधिक चक्रप्रसाद भाट अब उपभोक्ता पनि विषादीरहित तरकारीबारे सचेत हुनुपर्ने बताउँछन्। विषादीरहित तरकारीमा दाग, किरा लागेको भए पनि स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ।
कृषि प्राधिधिक भाट भन्छन, 'उपभोक्ता आकर्षक र चिल्लो देखिने तरकारी मन पराउँछन्, तर त्यसको स्वास्थ्य लाभबारे ध्यान दिँदैन। अब प्रयोगबारे उपभोक्ता र विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ।'
माटोको उर्वरा शक्ति बढाउन, उत्पादन वृद्धि र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आफूहरूले किसानलाई सचेत गराउँदै आएको उनले बताए।