सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो।
प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६÷९६ प्रतिशत रोपाइँ भएको छ । कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिए। उनका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ।
दार्चुलामा ९१ दशमलव ७२, अछाममा ९०, बझाङमा ९१, बैतडीमा ९० दशमलव एक र बाजुरामा ९१ दशमलव ९८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कँडेलले जानकारी दिए। प्रदेशका नौ जिल्लामध्ये डोटीमा सबैभन्दा कम ६० दशमलव एक प्रतिशत मात्रै रोपाइँ भएको छ।
जिल्लामा धान रोप्न योग्य छ हजार ४२६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ८५६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको उनले जनाए। कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधिक गर्न बाँकी रहेको जनाउँदै मनसुन सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको बताए। सोमबारसम्म प्रदेशभर करिब ९७ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको उनको भनाइ छ।