कडा सुरक्षाबीच लम्कीचुहा अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेपछि कैलालीको लम्की क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अस्पताल सञ्चालनको विषयलाई लिएर प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच विवाद चर्किरहेका बेला बिहीबार बिहान मुख्यमन्त्री शाह अस्पताल उद्घाटनका लागि लम्कीचुहा पुगेका हुन्। मुख्यमन्त्रीको आगमनअघि नै अस्पताल परिसर तथा आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ। अस्पताल सञ्चालन र हस्तान्तरणको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच लामो समयदेखि सहमति जुट्न सकेको छैन।
प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाएको थियो। तर नगर प्रमुख सुशीला शाहीले अस्पताल औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण नभएको भन्दै ती कर्मचारीलाई हाजिर हुन नदिन निर्देशन दिएपछि विवाद थप चर्किएको थियो।
सोही विषयलाई लिएर गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत गरिएको थियो। त्यसपछि लम्की क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। प्रदेश सरकारले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया पूरा गरी बजेटसमेत विनियोजन गरिसकेको दाबी गरेको छ। तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमानेपछि अन्योल कायमै रहेको छ।
यस विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र नगर प्रमुख सुशीला शाहीबीच राजनीतिक तथा आन्तरिक विवादसमेत जोडिएको बताइएको छ। मेयर शाहीका समर्थकहरूले विरोध प्रदर्शन तथा अवरोध गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहानैदेखि अस्पताल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको