सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५३ व्यावसायिक प्रतिष्ठानले कर नतिरेको खुलासा

२०८३ जेठ १२, १२:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसहित कैलालीका होटल, अस्पताल, उद्योग र निर्माण कम्पनीसहित ५३ वटा व्यावसायिक प्रतिष्ठानले लामो समयदेखि राज्यलाई तिर्नुपर्ने कर नबुझाएको खुलासा भएको छ।

आन्तरिक राजस्व कार्यालय, धनगढीले समयमै कर नतिर्ने, पटक–पटकको ताकेता अटेरी गर्ने तथा केही सम्पर्कविहीन रहेका व्यवसायीहरूको नाम सार्वजनिक गर्दै १५ दिनभित्र कर चुक्ता गर्न अन्तिम चेतावनी दिएको हो।

आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार जारी गरेको सार्वजनिक सूचनाअनुसार तोकिएको म्यादभित्र बक्यौता नतिरे मूल्य अभिवृद्धि कर ऐन, २०५२ र आयकर ऐन, २०५८ बमोजिम बैंक खाता रोक्का, चल–अचल सम्पत्ति जफत तथा व्यावसायिक कारोबार र आयात–निर्यातसमेत रोक्का गर्ने कानुनी प्रक्रिया अगाडि बढाइनेछ।

कार्यालयका अनुसार यसअघि करदाता व्यवसायीहरूलाई फोन, एसएमएस तथा पत्राचारमार्फत पटक–पटक जानकारी गराइए पनि केहीले अटेर गरेको र केही फर्म सम्पर्कविहीन भएपछि बाध्य भएर सार्वजनिक सूचनामार्फत नामावली प्रकाशन गर्नुपरेको हो।

कर नबुझाउने प्रतिष्ठानहरूमा धनगढीका चर्चित अस्पताल, होटल र उद्योगहरू पनि परेका छन्। सूचीमा माया मेट्रो हस्पिटल प्रा.लि., नोभा हस्पिटल प्रा.लि., होटल डिभोटी एण्ड रेष्टुरेन्ट बार, वासु लिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज लि., सुदूर फुड इण्डष्ट्रिज, सेति प्लाष्टिक उद्योग, केदार इटा उद्योग र शुभश्री प्यालेस प्रालि जस्ता प्रतिष्ठान समावेश छन्।

यसैगरी व्यापारिक फर्म तथा सप्लायर्सतर्फ सिमाइलेश्वर स्टोर, नवको गोपाल इम्पोरियम, रोदन ट्रेडर्स, शाहजी सप्लायर्स, एकेजिएन सप्लायर्स, किसान ट्रेडिङ कन्सर्न, लाल ट्रेडर्स, एमके सप्लायर्स, डिएस सप्लायर्स र मंगलेश्वर मल्टी ट्रेड एण्ड सप्लायर्स रहेका छन्।

निर्माण तथा ठेक्का व्यवसायमा संलग्न श्रेष्ठ कन्स्ट्रक्सन, सुरुची कन्स्ट्रक्सन, देवरथी कन्स्ट्रक्सन, यमुना कन्स्ट्रक्सन, एसएस कन्स्ट्रक्सन, एलबि निर्माण सेवा, उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि तथा नन्देगडा कन्स्ट्रक्सन–रुपाली कन्स्ट्रक्सन जेभी पनि कर नबुझाउने सूचीमा परेका छन्।

आन्तरिक राजस्व कार्यालयले तोकिएको समयसीमाभित्र कर चुक्ता गरी कानुनी झन्झटबाट जोगिन सबै सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस