सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी प्रशिक्षार्थीहरूको होस खुल्यो

२०८३ जेठ ९, ११:२६ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका सशस्त्र प्रहरीका प्रशिक्षार्थीहरूको होस खुलेको छ।

नेपाल एपीएफ अस्पतालका अनुसार उपचाररत ६ जना सशस्त्र प्रहरी जवान प्रशिक्षार्थी सबैको होस खुलेको हो। अस्पतालले सबैको उपचार निरन्तर रूपमा जारी रहेको जनाएको छ। उनीहरूको उपचारमा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरू संलग्न रहेका छन्।

गत शुक्रबार टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा आठ जना प्रशिक्षार्थी बेहोस भएका थिए। तीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

तालिमका क्रममा बेहोस हुने प्रशिक्षार्थीहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङ तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बलम्बुस्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोस भएका प्रशिक्षार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस