सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा भन्सार छलिका सामान बरामद

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ जेठ ७, ०४:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका कञ्चनपुर, कैलाली र बैतडी जिल्लामा प्रहरीले भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित चेतन होटल नजिक, वडा नम्बर १३ को बैजनाथ मन्दिर क्षेत्र तथा बेलौरी नगरपालिका–१० सडकघाटबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ७३ हजार ५ सय ४४ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामानमा क्रिम, पाउडर, तेल, साबुन, विभिन्न औषधि तथा किराना सामग्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट भारतबाट अवैध रूपमा ल्याइएको करिब २१ हजार रुपैयाँ बराबरको सिद्रा माछा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले बुधबार उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।

यसैगरी, बैतडीको दशरथचन्द नगरपालिका–२ सुँगरखालीबाट करिब १ लाख ४४ हजार रुपैयाँ बराबरको ३६० बण्डल पनिहारिन बिँडी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस