सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ बाजुरा-हुम्ला सीमा विवादको अन्तर्य

२०८३ जेठ ६, ०९:११ नारायण अवस्थी

धनगढी:  सुदूरपश्चिमको ९ जिल्ला मध्ये बाजुरा जिल्लाको कुल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटर छ। जसमध्ये जिल्लाको उत्तर-पूर्वी दिशामा अवस्थित हिमाली गाउँपालिकाको क्षेत्रफल ८३० दशमलव ३४ वर्ग किलोमिटर छ।

हिमाली गाउँपालिकामा सात वडा छन्।  वडा नम्बर ३ को क्षेत्र हुम्ला जिल्लासँग जोडिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ को  लाम्पाटा-च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको छ।

हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा प्रहरी चौकी निर्माण गर्न जग्गा उपलब्ध गराएका छन्। स्थानीयले उपभोक्ता समिति गठन गरेर चौकी निर्माणको कामसमेत अगाडि बढाएको पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले दिनेशखबरसँग बताए।

लाम्पाटामा प्रहरी चौकी निर्माण हुने भएपछि हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थली र सर्केगाड गाउँपालिका-३ का बिरोधमा उत्रिएका हुन्। उनीहरूले लम्पाटाभन्दा माथिको च्याचौर, सानोताल, रानी खर्क र रानीसैन क्षेत्र हुम्ला जिल्लामा पर्ने भन्दै विगतदेखि नै विवाद झिक्दै आएका थिए।

नापी कार्यालय बाजुराले उपलब्ध गराएको विवरणअनुसार साइपाल बेसक्याम्प क्षेत्रमा पर्ने रानीसैन बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ। तर उक्त क्षेत्रमा जनसंख्या कम भएको फाइदा हुम्लाको खार्पुनाथ-२ र सर्केगाड-३ का स्थानीयले उठाउँदै आएको एक स्थानीयले बताए। उनका अनुसार रानीसैन क्षेत्रमा एकाधिकार जमाउँदै यार्सागुम्बा र हिमाली जडिबुटीको दोहन गर्दै आएका हुम्लीले प्रहरी चौकी स्थापना हुने भएपछि मुखर रुपले बिरोध गर्न थालेका हुन्। 

हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्थानीयले जडिबुटी तस्करी रोकिने भयले प्रहरी चौकी स्थापनाको बिरोध गर्ने क्रममा लाम्पाटाका वडा सदस्य पेमा गारा गुरुङको घरभित्र पसेर उनी तथा उनकी श्रीमतीलाई जेठ ३ गते निर्घात कुटपिट गर्दै घरमाथि कब्जा गरेका थिए। हुम्लाका स्थानीयले लाम्पाटाका अन्य स्थानीयलाई समेत कुटपिट गर्दै उक्त क्षेत्रमा सुदूरपश्चिमको कुनै पनि व्यक्तिलाई प्रवेश गर्न नदिने भन्दै पहरा दिन थालेका थिए।

वडा सदस्यसहित अन्य स्थानीयलाई कुटपिट गरेका उनीहरूले धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई बन्दी बनाउने योजना बनाएको खुलेको छ। जसका लागि उनीहरू जेठ ३ गतेदेखि नै लम्पाटा क्षेत्रमा तैनाथ भएका थिए। उनीहरूले कुटपिट गरेका स्थानीयलाई समेत उपचार गर्न जान नदिएको विवरण सार्वजनिक भएका छन्। यी सबै कुरा हुँदा समेत बाजुराको स्थानीय प्रशासन भने बेखबर बनेको तथ्य सार्वजनिक भएका छन्।

लाम्पाटामा प्रहरी चौकी निर्माण हुँदा उक्त क्षेत्रमा हुने अवैध गतिविधिमा प्रहरीको निगरानी बढ्ने भयले उक्त क्षेत्रमा यार्सागुम्बा र हिमाली जडीबुटी तस्करी गर्दै आएका हुम्लाका स्थानीय चौकी स्थापनाको बिरोधमा उत्रिएको स्थानीयको दाबी छ। खार्पुनाथ-२ का स्थानीयले सर्केगाड-३ का स्थानीयलाई समेत रानीसैन क्षेत्रबाट जडिबुटी संकलन गर्नबाट बञ्चित गराउँदै आएका थिए।

बाजुराको लाम्पाट क्षेत्रमा जनसंख्या कम भएको फाइदा उठाउँदै हुम्लाको खार्पुनाथ-२ थलीका स्थानीयले लाम्पाटा-रानीसैन क्षेत्रमा एकाधिकार कायम गर्दै आएका छन्। प्रहरीको उपस्थित उक्त क्षेत्रमा भए आफूहरूले गर्दै आएको गैरकानुनी गतिविधिमा अङ्कुश लाग्ने भयले उनीहरू प्रहरी चौकी स्थापना गर्न जग्गा उपलब्ध गराउने वडा सदस्यसहितका स्थानीयलाई कुटपिट गर्दै उनीहरूको घरमा लुटपाट गरेको स्थानीय जनप्रतिनिधिको आरोप छ। तर बाजुरा प्रहरीले भने यो सबै कुराको पुष्टि गरेको छैन।

बाजुराको वस्तुस्थिति बारे जानकारहरूले जडिबुटीमा कायम एकाधिकार समाप्त हुने अवस्था आएकाले हुम्लाको खार्पुनाथ-२ थलीका स्थानीय आक्रमणमा उत्रिएको बताएका छन्। सर्केगाड गाउँपालिका-३ का स्थानीयको समेत रानीसैन क्षेत्रमा दाबी भए पनि उनीहरू कम आक्रमक देखिएको घटनाका पीडितहरूले बताएका छन्।

लाम्पाटा- रानीसैन हुम्लामा पर्ने भन्दै सुदूरपश्चिमका पर्यटकहरूलाई उक्त क्षेत्रमा प्रवेश निषेधको उर्दी जारी गरिएको छ। जसका कारण धनगढीका मेयर हमालको टोलीसमेत हुम्लीहरूको लखेटाइमा परेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस