मुख्यमन्त्री शाह र स्विस राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट, विकास सहकार्यमा जोड
कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट भएको छ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच आपसी सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको हो।
भेटका क्रममा मुख्यमन्त्री शाहले स्वीस सरकारले नेपालमा संघीय शासन प्रणाली सुदृढीकरण, रोजगारी सिर्जना, सीप विकास, सुरक्षित वैदेशिक रोजगार, कृषि विकास, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनजस्ता क्षेत्रमा पुर्याउँदै आएको प्राविधिक सहयोगको प्रशंसा गरे।
त्यस्तै, नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डेनिएल मेउलीले नेपाल र स्विट्जरल्याण्डबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा भइरहेका कार्यक्रमबारे जानकारी गराइन्। उनले नेपालको दीगो विकासका लागि स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।