सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिलाको आर्थिक उन्नतिका लागि ‘संवादमार्फत अनुकूल वातावरण’ परियोजना सुरु

२०८३ जेठ ४, ०५:०४ जयन्त सिंह भाट

धनगढी: महिलाको आर्थिक उन्नतिका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले “संवादमार्फत महिलाको आर्थिक उन्नतिका निमित्त अनुकूल वातावरणको सृजना” परियोजना सञ्चालनमा ल्याइएको छ।

प्रो पब्लिक “जनहित संरक्षण मञ्च” संस्थाको आयोजना तथा धनगढी उपमहानगरपालिकाको समन्वयमा उक्त परियोजनाको शुभारम्भ गरिएको हो। धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

धनगढीस्थित देव तालिम केन्द्रमा आयोजित कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्ष, विभिन्न टोल विकास समितिका अध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, नगर कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारी, प्रमुख राजनीतिक दलका प्रतिनिधि, उद्यमी महिला तथा पुरुष, बुद्धिजीवी, महिलाहरू तथा विभिन्न निकायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा महिलाहरूलाई आर्थिक क्षेत्रसँग जोड्ने, उनीहरूको पहुँच विस्तार गर्ने तथा हक–अधिकारबारे सचेत बनाउने परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ। अध्यक्षता गर्दै उपप्रमुख रानाले महिलाहरूको आर्थिक क्षेत्रमा पहुँच अपरिहार्य रहेको बताइन्। उनले सुदूरपश्चिमका महिलाहरू अझै पनि पछाडि परेको अवस्था रहेको उल्लेख गर्दै जातीय विभेदसमेत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको धारणा राखिन्।

“महिलाहरूलाई विभिन्न रोजगारीसँग जोडेर सक्षम बनाउनु आवश्यक छ। यस्तो कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिनेछ,” उनले भनिन्। परियोजनाका कार्यकारी निर्देशक बाबुराम पौडेलले सुदूरपश्चिमका विभिन्न जिल्लासँगै कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महिलाको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको बताए।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरूलाई लक्षित गर्दै घरको आर्थिक पाटो मजबुत बनाउने कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। महिलाहरू पनि आर्थिक रूपमा सक्रिय, सक्षम र आत्मनिर्भर बन्न सक्छन् भन्ने आत्मविश्वास बढाउन परियोजनाले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

परियोजनाअन्तर्गत महिलाहरूलाई समय–समयमा संवाद, परामर्श तथा सकारात्मक सोच विकासका कार्यक्रममार्फत सही निर्णय लिन सक्षम बनाइने बताइएको छ। साथै, समाजसँग जोडेर महिलाहरूलाई उचित अवसर तथा नेतृत्व विकासतर्फ प्रेरित गरिनेछ।

आयोजकका अनुसार महिलाको सशक्तीकरणमार्फत परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन यो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका प्रेम खनालले गरेका थिए भने परियोजनाको विस्तृत प्रस्तुतीकरण संस्थाकी अधिकृत कमला रानाले गरेकी थिइन्।

उक्त कार्यक्रम उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले समाजमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस