‘स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय सुनिश्चित गर्ने कानुन आवश्यक’
काठमाडौँ:स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्था अभाव हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको भन्दै सामाजिक न्याय सुनिश्चित गर्ने गरी स्वास्थ्यसम्बन्धी कानुन निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
राजधानीमा शुक्रबारदेखि सुरु भएको चिकित्सा तथा स्वास्थ्य सेवा कानुनसम्बन्धी तीनदिने सम्मेलनमा सहभागीहरूले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको बताएका हुन्।
कार्यक्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले ‘बिरामी र चिकित्सक दुवैको सुरक्षा सुनिश्चित हुने गरी कानुन तर्जुमा गरिनुपर्ने’ बताइन्। उनले संविधानले स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि पर्याप्त कानुनी व्यवस्था नहुँदा सर्वोच्च अदालतले व्याख्यात्मक आदेशमार्फत कानुनी स्पष्टता दिनुपरेको उल्लेख गरिन्। उनले ‘मेडिकल इन्सुरेन्स कसले गर्ने भन्ने विषय पनि स्पष्ट हुनुपर्ने’ धारणा राखिन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना ले नेपालको कानुन अत्यधिक जटिल भाषामा लेखिने भएकाले सामान्य नागरिकले बुझ्न कठिन भएको बताए। उनले ‘सरल र स्पष्ट भाषामा कानुन मस्यौदा गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको’ जानकारी दिए।
नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र ले स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार रोक्न कानुनी सुरक्षा आवश्यक रहेको बताए। नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की ले चिकित्सकले डर र त्रासबिना काम गर्न सक्ने वातावरण बनाउन नयाँ कानुन आवश्यक रहेको धारणा राखे।
सम्मेलनमा प्रस्तुत कार्यपत्रमा ग्रामीण क्षेत्रमा चिकित्सक अभाव, औषधि वितरण प्रणाली, वैकल्पिक चिकित्सा तथा आध्यात्मिक स्वास्थ्यजस्ता विषयमा कानुनी बहस आवश्यक रहेको औँल्याइएको थियो।
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष सहप्राध्यापक प्रेमराज न्यौपाने ले स्वास्थ्य कानुनमा देखिएका समस्याको समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए। सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।