कञ्चनपुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
कञ्चनपुर: जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडी भित्री सडक खण्डमा मिति २०८३/०१/३१ गते दिउँसो अन्दाजी १४:५५ बजे सवारी दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी टोली खटिई १५:१० बजे घटनास्थल पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दोमिल्लाबाट बेल्डाडी तर्फ जाँदै गरेको से २ त १४१८ नम्बरको ट्याक्टर चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका–१ बस्ने सन्देश खड्काले चलाइरहेको अवस्थामा ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा चालक खड्काको टाउको, छाती तथा खुट्टामा गम्भीर चोट लागेको थियो। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, कञ्चनपुर पठाइएकोमा उपचारकै क्रममा सोही दिन १६:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।