सुदूर नेपाललाई विश्वसँग जोड्दै

अतिक्रमित जग्गा खाली गर्न धनगढी उपमहानगरको सात दिने अल्टिमेटम

२०८३ वैशाख ३१, ०४:०८ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई फेरि तीव्रता दिएको छ ।

उपमहानगरपालिकाले वडा नम्बर ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाको कार्यालयले बुधवार एक सूचना जारी गर्दै वडा नं. ८ को मुख्य सडक क्षेत्रमा पर्ने कित्ता नम्बर ६५ को १३,६४५.२५ वर्गमिटर जग्गा ९साविक त्रिनगर २ क को कित्ता नं. २३२ र २३४० मा नेपाल सरकारको अनुमति विना भौतिक संरचना निर्माण गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’ तोकिएको समयभित्र अवैध संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन अनुसार डोजर चलाएर संरचना भत्काइने र कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत उपमहानगरले दिएको छ ।

धनगढी उपमहानगरपालिकाले यसअघि पनि नगर क्षेत्रभित्र मिचिएका विभिन्न सार्वजनिक जग्गा, सडक किनारा र ताल तलैयाहरू खाली गराइसकेको छ । मेयर गोपाल हमालको नेतृत्वमा सुरु भएको यो अतिक्रमण हटाउने अभियानलाई नगरबासीले सकारात्मक रूपमा लिँदै आएका छन्।

यस विषयमा आवश्यक समन्वय र सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कैलाली, वडा कार्यालय र नगर प्रहरी बललाई समेत बोधार्थ पठाइएको छ।

कमेन्ट लोड गर्नुस