सुदूर नेपाललाई विश्वसँग जोड्दै

मापसे गरेर सरकारी गाडी चलाउँदा गोदावरीका मेयर भट्टलाई जरिवाना

२०८३ वैशाख २७, ०२:३९ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले मदिरा सेवनपछि सरकारी गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ। मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाएको स्वीकार गरेपछि प्रहरीले उनलाई जरिवाना गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मेयर भट्टलाई मापसे गरेर सवारी चलाएको अभियोगमा पाँच सय रुपैयाँ तथा लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा थप पाँच सय रुपैयाँ गरी कुल एक हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले मेयर भट्टलाई जरिवाना तिराएर गाडी छाडिएको जानकारी दिए। उनका अनुसार आफन्तमार्फत ट्राफिक कार्यालयमा जरिवाना बुझाइएपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी आवश्यक कागजी प्रक्रिया पूरा गरेर छाडेको हो।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो। अनियन्त्रित भएको गाडी सडकछेउको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा क्षति पुगेको छ। स्थानीयले सरकारी गाडी दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलमै राति मापसे परीक्षण गर्न सम्भव नभए पनि मेयर भट्टले स्वयं मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

कमेन्ट लोड गर्नुस