धनगढी-८ स्थित राधाकृष्ण मन्दिरको जग्गा व्यक्तिको कब्जामा
धनगढीः धनगढी-८ स्थित राधाकृष्ण मन्दिरको नम्बरी जग्गा व्यक्तिले कब्जा गरेको पाइएको छ। धनगढी गाउँमा हुलाकी बाइपास सडक छेउमा रहेको मन्दिर नाममा दर्ता भएको एक बिघा १५ धुर जग्गा मध्ये कित्ता नम्बर ७९ को ३ कट्ठा ८ धुर जग्गा अतिक्रमण गरिएको छ।
राधाकृष्ण मन्दिर सेवा समितिको नाममा दर्ता जग्गा स्थानीय ६/७ जनाले अतिक्रमण गरेर घर निर्माण गरेको मन्दिरका संस्थापक संरक्षक नवराज ओझाले बताए। उनले माओवादी शान्ति प्रक्रियामा आएपछि मन्दिरको जग्गा रातारात अतिक्रमण गरिएको बताए।
'राधाकृष्ण मन्दिरसँग लालपुर्जा भएको जग्गा अतिक्रमण गरिएको छ। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि रातारात जग्गा अतिक्रमण गरिएको हो,' उनले भने, 'माओवादीको जगजगीमा कब्जा गरिएको मूल्यवान जग्गा अहिलेसम्म खाली गर्न सकिएको छैन। नगरपालिका, जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमै निवेदन दिँदा पनि जग्गा खाली गराउन सकिएन।'
मन्दिरको नाममा दर्ता जग्गालाई नयाँ नापीमा दुई कित्ता बनाइएको हो। कित्ता नम्बर ७३ मा मन्दिर तथा अन्य संरचनासहित रुख विरुवा रोपिएका छन् भने कित्ता नम्बर ७९ को तीन कट्ठा ८ धुर जग्गा पूरै अतिक्रमण गरेर व्यक्तिले घर निर्माण गरेका छन्।
मन्दिरको जग्गा खाली गराउन भन्दै २०६४ सालदेखि अनेक प्रयास गर्दा पनि सफल हुन नसकेको ओझाले गुनासो गरे। वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग नगर्दा मन्दिरको जग्गा वर्षौदेखि कब्जा गरेर भोगचलनबाट बञ्चित गराइएको उनले बताए। खाली गराउने प्रयास गर्दा जग्गामा बसेकाहरूले भौतिक आक्रमण गर्ने धम्की दिने गरेको ओझाको दाबी छ।
यी हुन् मन्दिरको जग्गा अतिक्रमण गर्नेहरू
मन्दिरका संस्थापक संरक्षक ओझाका अनुसार विभिन्न ठाउँमा घर र जग्गा भएकाहरूले नै मन्दिरको जग्गा सुकुमवासी हौँ भन्दै कब्जा गरेको बताए। उनले वडादेखि जिल्ला प्रशासन र गृह मन्त्रालयमा दिएको निवेदनमा जग्गा कब्जा गर्नेहरूको नाम नै किटान गरेका छन्।
ओझाका अनुसार मुकेश चौधरी, टुलेराम चौधरी, जियाराम चौधरी, देवल चौधरी, सुली चौधरी र किसन चौधरीले मन्दिरको नाममा दर्ता भएको जग्गा कब्जा गरेका छन्। उक्त जग्गा खाली गराउन सरकारी निकायबाट कुनै साथ र समर्थन नपाएको ओझाले बताए।
'मन्दिरको नाममा दर्ता भएको जग्गा अरूले नै कब्जा गरेका छन्। मन्दिरले खाली गराउन अनेक प्रयास गर्दा पनि सरकारी निकायले अहिलेसम्म कुनै सहयोग गरेन,' उनले भने, 'किरिया पुत्री बस्ने भवन निर्माण गर्ने भनिएको जग्गा व्यक्तिले कब्जा गरेकाले किरया पुत्री बस्ने घरसमेत निर्माण गर्न सकिएन। सार्वजनिक सम्पत्ति ठाउँ-ठाउँमा जग्गा भएका व्यक्तिले कब्जा गरेका छन्। उनीहरूले उल्टै धम्की दिने गरेका छन्।'