सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न निर्देशन

२०८३ वैशाख २३, ०२:२० खबर संवाददाता

 बैतडीः बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।

जिल्लाका विभिन्न स्थानमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएपछि डिभिजन वन कार्यालय बैतडीले सम्बन्धित व्यक्ति, संस्था र निकायलाई १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार जिल्लाभर वन क्षेत्र अतिक्रमण गरी विभिन्न व्यक्ति, संस्था तथा निकायहरूले अनधिकृत संरचना निर्माण गरेका छन् ।

कार्यालय प्रमुख भक्तराज गिरीका अनुसार ढोल्यामोड, गिरिजाबगर, जमिटाँड, रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्या खोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया र खोचलेक लगायत क्षेत्रमा वन जमिनमाथि संरचना निर्माण गरिएका छन् ।

राष्ट्रिय वन मात्र नभई सामुदायिक वन क्षेत्र समेत अतिक्रमणको चपेटामा परेको पाइएको छ । गिवाखोला र भूमिराज सुनुवागढी लगायतका सामुदायिक वनहरूको क्षेत्र पनि अतिक्रमणमा रहेकाले ती क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताए। 

अतिक्रमित क्षेत्रमा विभिन्न व्यक्ति तथा निकायहरूले घर टहरा, पक्की घर निर्माण गरेका र खेतीपाती गर्दै आएका छन् ।

वन ऐन २०७६ को दफा ४९ (ग)ले वन क्षेत्र अतिक्रमण स्पष्टताः निषेध गरेको छ । सोही व्यवस्था अनुसार तोकिएको म्यादभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।

अतिक्रमित वन क्षेत्र खाली गराउने अभियानमा स्थानीय सरकारहरूलाई समेत सक्रिय सहयोगका लागि आग्रह गरिएको गिरीले थप जानकारी दिए। 

यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन स्थानीय तहलाई कार्ययोजना तयार गर्न आग्रह गरेको थियो ।

कमेन्ट लोड गर्नुस