सुदूरपश्चिममा एमालेले काँग्रेसको साथ छोड्दै, नेकपा र एमालेको सरकार बन्ने सम्भावना
धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा सदस्यहरूलाई काठमाडौँ बोलाएका छन्।
अध्यक्ष ओलीले आजै प्रदेश सभा सदस्यहरूसँग छलफल गर्ने तय भएको छ।
अध्यक्ष ओलीको आह्वानमा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्य काठमाडौँ पुगेका छन्। उनीहरूबीच देखिएको आन्तरिक विवाद समाधानका लागि भक्तपुरको गुण्डुमा बुधबार छलफल तय गरिएको छ।
एक प्रदेशसभा सदस्यका अनुसार प्रारम्भिक रूपमा बिहान ११ बजेका लागि बैठक बोलाइएको सूचना आए पनि औपचारिक समय भने अझै तय भइसकेको छैन। “अध्यक्ष कमरेडसँग छलफल गर्न ११ बजे गुण्डु पुग्ने भनिएको छ, तर समय फेरिन पनि सक्छ,” ती सदस्यले बताएका छन्।
सुदूरपश्चिम एमालेभित्र लामो समयदेखि संसदीय दलका नेता रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै आएको छ। दलभित्रैबाट नेतृत्व परिवर्तनको माग उठ्दै आएको र पछिल्लो समय त्यो झनै तीव्र बनेको देखिन्छ।
प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता तथा सांसदहरूको समूहले छुट्टाछुट्टै रूपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई दल नेताबाट हटाउनुपर्ने माग राखेका थिए। उनीहरूले सहमतिमै नेतृत्व परिवर्तन गर्नुपर्ने, अन्यथा संसदीय दलभित्र लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न दिनुपर्ने अडान लिएका छन्।
अध्यक्ष ओलीसँग केबल संसदीय दलको नेताको विषयमा मात्रै कुराकानी नभएर अन्य महत्त्वपूर्ण विषयमा पनि निर्णायक छलफल हुने एक जना प्रदेश सभा सदस्यले बताए। उनले अध्यक्षसँग सत्ता साझेदारी, बजेट निर्माण र नयाँ सत्ता समीकरणका विषयमा पनि छलफल हुने जानकारी दिए।
सुदूरपश्चिममा अहिले काँग्रेसका कमलबहादुर शाहको नेतृत्वमा नेकपा एमाले सहितको गठबन्धन सरकार छ।
तर, नेकपा एमालेका नेता सरकार तथा मुख्यमन्त्रीको कार्यशैली प्रति बेखुस छन्। एमालेले काँग्रेससँगको सत्ता साझेदारी समाप्त गर्दै नेकपासँग सत्ता साझेदारी गर्ने किसिमले कुराकानी अगाडि बढाएको छ। केन्द्रमा सहमति जुटेमा एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने र नेकपासँग सत्ता साझेदारी गर्ने भएको बताइएको छ।
पार्टी अध्यक्ष ओलीसँगको छलफलपछि मात्रै प्रदेश सरकारमा बसी रहने या नयाँ सरकार निर्माणका लागि अर्को गठबन्धन गर्ने भन्ने कुराको टुङ्गो लाग्ने नाम उल्लेख नगर्न भन्दै एक जना प्रदेश सभा सदस्यले दिनेशखबरसँग बताए। उनका अनुसार बुधबार अध्यक्ष ओलीसँग हुने छलफलबाट संसदीय दलको नेता, प्रदेश सरकार र बजेट निर्माणबारे ठोस निष्कर्ष आउने छ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ जना र नेकपाका २२ जना सांसदमध्ये एकजना निलम्बित छन्। नेकपा र एमालेले सत्ता साझेदारी गरेमा उनीहरूसँग सरकार निर्माण गर्न स्पष्ट बहुमत छ।
एमाले अध्यक्ष ओलीले काँग्रेसको साथ छोड्ने निर्देशन दिएमा हाल प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने छ।