सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बदलिँदो तस्वीर: युवा जोस, उद्यमशीलता र सशक्तीकरणको नयाँ अध्याय

२०८३ वैशाख २२, १२:००

बसन्ती सापकोटाः सुदूरपश्चिमलाई बुझ्न यसको भौगोलिक दूरी मात्र हेरेर पुग्दैन, यसको इतिहास, राज्यसँगको सम्बन्ध र यहाँका जनताको संघर्षलाई पनि बुझ्नुपर्छ। दशकौँसम्म राज्यको पहुँच कमजोर रहँदा यहाँका नागरिकले आधारभूत सेवाबाट समेत वञ्चित हुनुपर्‍यो। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका सवालमा सुदूरपश्चिम सधैँ पछाडि पारिएको क्षेत्रका रूपमा चिनियो। यही कारण ‘सुदूर’ भन्ने शब्दले केवल दूरी मात्र होइन, अवसरबाट टाढिएको अवस्थालाई पनि प्रतिनिधित्व गर्थ्यो। तर पछिल्ला दशकमा देखिएको परिवर्तनले यो परिभाषालाई विस्तारै उल्ट्याउन थालेको छ। त्यसमाथि सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरलाई देखाएको माया निकै रोचक छ।

सडक सञ्जालको विस्तार, सञ्चार प्रविधिको पहुँच र संघीय संरचनाको कार्यान्वयनले सुदूरपश्चिमको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ। गाउँ–गाउँमा सडक पुग्दा केवल यातायात सहज भएको छैन, यसले आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ। किसानले उत्पादन गरेको सम्पूर्ण उपभोग्य बस्तुहरु सिधै बजारसम्म पुर्‍याउन थालेका छन्, विद्यार्थीले शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म घटेको छ र स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ। तर यी सबै परिवर्तनका केन्द्रमा यदि कसैलाई राख्नुपर्छ भने त्यो यहाँको युवा पुस्ता हो। युवा पुस्ताको माध्यमबाट प्रदेशभित्र रहेका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूलाई थप प्रचार–प्रसार गर्नु नै आजको युवाको प्रमुख दायित्व हो। युवा सक्रियता नै समाज परिवर्तनको मेरूदण्ड हो।

आजका सुदूरपश्चिमका युवाहरू विगतका पुस्ताभन्दा फरक सोच बोकेका छन्। उनीहरू केवल अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने मानसिकतामा अघि बढिरहेका छन्। विदेश गएका धेरै युवाहरूले त्यहाँ सिकेका सीप, अनुशासन र दृष्टिकोणलाई आफ्नै ठाउँमा प्रयोग गर्न थालेका छन्। कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास, पर्यटनलाई स्थानीय संस्कृति र प्रकृतिसँग एकीकृत गर्ने सोच र साना–ठूला उद्योग स्थापना गर्ने पहल—यी सबैले सुदूरपश्चिमको अर्थतन्त्रलाई नयाँ दिशा दिइरहेका छन्।

उद्यमशीलताको यो लहर केवल आर्थिक गतिविधिमा सीमित छैन, यसले सामाजिक सोचलाई पनि रूपान्तरण गरिरहेको छ। पहिले ‘नोकरी’ नै सफलताको मापन मानिन्थ्यो भने अहिले ‘आफ्नै काम’ गर्ने सोचले स्थान लिइरहेको छ। यसले युवाहरूमा आत्मविश्वास बढाएको छ र जोखिम लिने क्षमता पनि विकास गरेको छ। यद्यपि, लगानीको अभाव, बजारको सीमितता र नीतिगत जटिलताले अझै पनि धेरै युवाहरूलाई चुनौती दिइरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको पहुँच बढे पनि उद्यममैत्री वातावरण पूर्ण रूपमा निर्माण भइसकेको छैन, जसले गर्दा धेरै सम्भावनाहरू अझै अधुरा छन्।

यसैबीच जलवायु परिवर्तनले सुदूरपश्चिमको विकास यात्रामा गम्भीर प्रश्न खडा गरेको छ। यहाँको भौगोलिक विविधता—हिमाल, पहाड र तराई—सबै क्षेत्रमा जलवायु परिवर्तनको असर फरक–फरक रूपमा देखिन थालेको छ। हिमाली क्षेत्रमा हिमनदीहरू पग्लिँदै जाँदा पानीको स्रोतमा अस्थिरता बढेको छ। पहाडी क्षेत्रमा वर्षाको स्वरूप बदलिँदा पहिरो र भूक्षयको जोखिम बढेको छ। तराई क्षेत्रमा बाढी र अत्यधिक गर्मीले कृषि उत्पादनमा असर पुर्‍याएको छ। यी सबैले सुदूरपश्चिमको खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष चुनौती थपिरहेका छन्।

तर यो कथा केवल संकटको मात्र होइन, समाधान खोज्ने प्रयासको पनि हो। सुदूरपश्चिमका युवाहरूले जलवायु परिवर्तनलाई आफ्नो एजेन्डाको केन्द्रमा राख्न थालेका छन्। विद्यालयदेखि समुदायसम्म वातावरणीय शिक्षा फैलाउने, स्थानीय स्तरमै जलवायु अनुकूल कृषि अभ्यास अपनाउने र वन संरक्षणमा सक्रिय भूमिका खेल्ने कामहरू बढिरहेका छन्। यहाँका युवाहरूले अब ‘पीडित’ भन्दा पनि ‘परिवर्तनकर्ता’ को भूमिका निर्वाह गर्न थालेका छन्, जुन अत्यन्त सकारात्मक संकेत हो।

सामाजिक संरचनामा देखिएको अर्को महत्वपूर्ण परिवर्तन भनेको महिला सशक्तीकरण हो। सुदूरपश्चिम लामो समयसम्म परम्परागत मान्यताले बाँधिएको समाजका रूपमा चिनिन्थ्यो, जहाँ महिलाको भूमिका सीमित थियो। तर अहिले त्यो परिवेश परिवर्तन हुँदैछ। शिक्षाको पहुँच बढेसँगै युवतीहरू आफ्नो अधिकारप्रति सचेत भएका छन्। उनीहरू केवल घरभित्र सीमित नभई समाजका विभिन्न क्षेत्रमा सक्रिय भूमिका खेलिरहेका छन्।

स्थानीय तहको निर्वाचनपछि महिलाहरूको नेतृत्व क्षमता अझ स्पष्ट रूपमा देखिएको छ। गाउँपालिका र नगरपालिकामा महिला जनप्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म आफ्नो भूमिका मजबुत बनाएका छन्। यसले नयाँ पुस्ताका युवतीहरूलाई प्रेरणा दिएको छ। साथै, सहकारी आन्दोलन र साना उद्यमहरूले महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै लगेका छन्। जब महिलाको हातमा आम्दानी आउँछ, तब त्यो परिवारको समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा सुदूरपश्चिमका धेरै उदाहरणहरूले पुष्टि गरेका छन्।

डिजिटल प्रविधिले यस परिवर्तनलाई तीव्र बनाउने काम गरेको छ। इन्टरनेट र स्मार्टफोनको पहुँचले सुदूरपश्चिमलाई विश्वसँग जोडेको छ। आज यहाँका युवाहरू अनलाइन प्लेटफर्ममार्फत आफ्नो सीप बेचिरहेका छन्, ज्ञान हासिल गरिरहेका छन् र विश्वव्यापी नेटवर्कसँग जोडिइरहेका छन्। सामाजिक सञ्जालले स्थानीय उत्पादनलाई बजारमा चिनाउन सहयोग गरेको छ भने अनलाइन शिक्षाले ज्ञानको पहुँचलाई लोकतान्त्रिक बनाएको छ।

तर, यति हुँदाहुँदै पनि चुनौतीहरू पूर्ण रूपमा हटेका छैनन्। गुणस्तरीय शिक्षा, प्राविधिक तालिम, दीर्घकालीन रोजगारी र प्रभावकारी नीति कार्यान्वयन अझै पनि सुदूरपश्चिमका प्रमुख आवश्यकताहरू हुन्। विशेष गरी, युवाहरूलाई निर्णय प्रक्रियामा समावेश गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी छ। उनीहरूको आवाज नीति निर्माणमा प्रतिबिम्बित नभएसम्म विकास दिगो हुन सक्दैन। सुदूरपश्चिमको दिगो विकासका लागि युवाहरूलाई केवल श्रमशक्ति वा परिवर्तनको प्रतीकका रूपमा मात्र होइन, नीति निर्माणको सक्रिय हिस्सेदारका रूपमा पनि हेर्न आवश्यक छ। प्रदेश तथा स्थानीय तहका योजना निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ। जब युवाहरूको आवाज नीतिमा प्रतिबिम्बित हुन्छ, तब मात्र विकासले वास्तविक आवश्यकतालाई सम्बोधन गर्न सक्छ।

आज 'सुदूर अब दूर छैन' भन्ने कुरा केवल नारामा सीमित छैन, यो वास्तविकतामा रूपान्तरण हुँदैछ। तर यो यात्रा अझै अधुरो छ। यसलाई पूर्णता दिन राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक छ। सुदूरपश्चिमलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्न यहाँका युवाहरूको ऊर्जा, महिलाहरूको नेतृत्व र स्थानीय स्रोतहरूको दिगो उपयोगलाई प्राथमिकतामा राख्नुपर्छ। त्यसैले अबको प्राथमिकता युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नु हुनुपर्छ।

अन्ततः, 'झीक्कै झीक्कै माया तम्लाई' भन्ने भाव अब केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यो एउटा आन्दोलन हो—आफ्नो माटोलाई चिन्न, त्यसलाई माया गर्न, र त्यसको विकासका लागि प्रतिबद्ध रहने आन्दोलन। सुदूरपश्चिम अब पछाडि परेको भूगोल होइन, यो त सम्भावनाको उज्यालो भविष्यतर्फ अघि बढिरहेको एउटा जीवित उदाहरण हो। अबको सुदूरपश्चिम केवल परिवर्तनको प्रतीक्षा गर्ने होइन, परिवर्तनको नेतृत्व गर्ने चरणमा पुगेको छ। यहाँका युवाहरूको ऊर्जा, महिलाहरूको सशक्त उपस्थिति र प्रविधिको प्रयोगले यो क्षेत्रलाई नयाँ उचाइतर्फ डोर्‍याइरहेको छ। यदि सही नीति, लगानी र सहकार्य सुनिश्चित गर्न सकियो भने सुदूरपश्चिम देशकै विकासको नमुना बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो। अन्त्यमा प्रधानमन्त्री वालेन शाहकै शब्द सापटी लिँदै 'सुदूर अब दुर नाइ , झीक्कै झीक्कै माया तम्लाई!' 
लेखक सापकोटा, युवा अभियन्ता एवं नेपाल युवा परिषद्को प्रदेश संयोजक हुन्। 

कमेन्ट लोड गर्नुस