सुदूर नेपाललाई विश्वसँग जोड्दै

यार्चा टिप्न विद्यार्थी लेकतिर हिँडेपछि बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द

२०८३ वैशाख २२, १०:१९ खबर संवाददाता

बझाङः सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द गरिएका छन्। सबै विद्यार्थी यार्चा टिप्न लेकतिर लागेपछि यहाँका धेरैजसो विद्यालय जेठसम्मका लागि बन्द भएका हुन्। 

सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द भएका हुन्। यस क्षेत्रका ५० भन्दा बढी विद्यालय बन्द रहेको स्थानीयले बताएका छन्। ती विद्यालयमा असार १ देखि विद्यार्थी भर्ना सुरु हुनेछ।

आम्दानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा ७/८ वर्षका बालबालिकादेखि हिँड्न सक्ने वृद्धवृद्धासम्म लेकतर्फ लागेका छन्। विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्चा संकलनका लागि पाटनतिरै उक्लिन थालेका छन्। ‘हामी पनि एक÷दुई दिनमै लेक जाने तयारीमा छौं,’ साइपालको काँडा माविका शिक्षक जीवन बोहराले भने, ‘स्कुल बन्द भएका बेला घरमै बस्नुभन्दा लेकतिर गयो भने आम्दानी पनि हुन्छ।’ उनले अन्य पालिकामा घर भएका धेरैजसो शिक्षक पनि विद्यार्थीसँगै लेक पुग्ने गरेको बताए।

अभिभावकसँगै विद्यार्थी पाटनतिर गएकाले असार १ देखि भर्ना सुरु गरिने साइपाल गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख ज्ञानबहादुर बोहराले बताए। सुर्मा गाउँपालिकामा पनि असार १ बाट मात्र विद्यार्थी भर्ना गर्ने योजना छ। यो क्षेत्रका विद्यालय हरेक वर्ष यार्चा संकलनको सिजनमा डेढ÷दुई महिना बन्द हुने गरेका छन्। यो अवधिको बिदालाई बर्खे बिदासित मिलान गरिने साइपालका शिक्षा शाखा प्रमुख बोहराले बताए। 

कमेन्ट लोड गर्नुस