पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी
बैतडीः पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी भएको छ । पञ्चेश्वर गाउँपालिका र भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयले प्राविधिकमार्फत नापजाँचको काम सकेर हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ ।
सुकुमवासीलाई एकै ठाउँमा जग्गा दिन पञ्चेश्वर गाउँपालिका–४ को महाकाली कोरिडोरसँग जोडिएको जाइबाटामा जग्गा नापजाँचको काम भएको भूमि समस्या समाधान अयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताए। उनले पहिलो चरणमा त्यहाँ २० जना सुकुमवासीलाई जग्गाको लालपुर्जा प्रदान गरिने बताए।
उनका अनुसार जग्गा नापजाँच भएको स्थान वनजङ्गलमा नपरेको सरकारी खाली जग्गा भएको पुष्टि भएको छ । सो जग्गामा कसैको दाबी विरोध भएमा उजुरी गर्न यही वैशाख १७ गते जिल्ला आयोगले कित्ता नम्बर २१८ को जग्गामा हकदाबी गर्नेसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ । आयोगले सूचनामा जग्गा प्राप्त गर्ने व्यक्तिको नामावलीसमेत प्रकाशित गरेको छ ।
सुकुमवासीलाई जग्गा दिन गाउँपालिकाले प्रमाणीकरण गरेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले सुकुमवासीको एकीकृत बस्ती बसाल्न सके बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने भएकाले पञ्चेश्वर गाउँपालिका–४ को महाकाली कोरिडोरनजिकैको जाइबाटाको भूगोल छनोट गरिएको बताए।
सुकुमवासीलाई जग्गा दिन पटक पटक आयोग बने पनि काम सुरु हुन सकेको थिएन । यो पटक जग्गा नापजाँचको काम सकिएर लालपुर्जा पाउने प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष चन्दले बताए।